देवघाट अनलाईन
चितवन, साउन ७ ।
आज बिहान ४ बजेको समयमा कावासोतीबाट काठमाडौँ जाँदै गरेको १७ जना सवार ग १ ख ९१५५ नम्बरको माईक्रो नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरे नजिक पुग्दा आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किदा तीन यात्रु घाइते भएका छन् भने एकको अवस्था गम्भिर रहेको छ।
घाइते हुनेहरुमा माईक्रोमा सवार कावासोती नगरपालिका–५ बस्ने वर्ष ६० की सन्तुमाया कुमाल, माईक्रो सहचालक कावासोती–८ बस्ने वर्ष ३६ को धनश्याम न्यौपाने र यात्रु उदयपुर गाईघाट नगरपालिका–१५ बस्ने १९ वर्षीय जेनिस बस्नेत रहेका छन् । न्यौपानेको अवस्था गम्भिर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको र माईक्रो चालक माडी नगरपालिका–१ बस्ने वर्ष ३३ को नन्दलाल महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।