देवघाट, साउन ७
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएर बेपत्ता बनाएपछि अहिले त्रिशुली नदीमा बेपत्ता भएको बस र यात्रुहरुको खोजी भईरहेको छ । नेपालका सुरक्षाकर्मीले मात्र उक्त बस र यात्रु फेला पार्न नसकेपछि भारतबाट गोताखोरहरु ल्याई त्रिशुली नदीको देवघाट लगायत विभिन्न स्थानमा खोजी कार्य भईरहेको छ ।
नदीमा डुबेको बसका २५ जना यात्रुहरु त्रिशुली तथा नारयणी नदीको किनारका विभिन्न स्थानमा भेटिएपछि त्रिशुली नदीको किनारमा सर्वसाधरणहरु जान डराईरहेका छन् । उक्त घटनाको प्रभाव सोमबारदेखी सुरु भएको बोलवम मेलामा पनि परेको छ । त्रिशुली र कालिगन्डकीको संगम देवघाटमा साउनको सोमबार बोलवम मेला भर्न विगतका बर्षमा ५० हजार भन्दा बढि भक्तजन आउने गर्थे । तर यसवर्ष भने भक्तजनको संख्या निकै कम भएको छ ।
यसवर्ष मुस्किलले १५-२० हजार भक्तजन देवघाटमा आएको बताईएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले साउनको सोमबारमा देवघाटमा प्रत्येक दिन ५० हजारको संख्यामा भक्तजन आउने गरेको भएपनि यसवर्ष भक्तजन कम भएको बताए । देवघाट भन्दा केही माथी सिमलतालमा त्रिशुली नदीमा ६५ जना यात्रु सहित दुई वटा यात्रुवहाक बस डुबेको असर देवघाटमा स्नान गर्न आउनेको भक्तजनको संख्यामा परेको देखिएको छ ।
तर सिमलताल घटनाकै कारण यसवर्ष देवघाटमा भक्तजन कमी भएको भन्न भने नमिल्ने देवघाट क्षेत्र विकास सतितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । ‘सिमलताल घटनामा मानविय संवेदना स्वभाविक रुपमा जोडिन्छ’ पौडेलले भने ‘तर त्यसको असर देवघाटको बोलवम मेलामा परेको भन्ने भने सकिँदैन ।’ अहिले ठाउँ ठाउँमा शिव मन्दिरहरु निर्माण गरिएको र सबैले आफ्नै ठाउँको प्रचार प्रसार र प्रबद्र्धनमा लागेको हुँदा तथा नदीमा पनि बहाव बढेको कारण देवघाटमा यसवर्ष भक्तजन कमी भएको हुनसक्ने पौडेलले बताए ।
गत असार २८ गते बिहान काठमाडौंबाट रौतहटको गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस सिमलताल भन्ने स्थानको पहिरोमा परेर एक साथ त्रिशूली नदीमा खसेका थिए ।
काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ३८ यात्रु र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्स बसमा २७ यात्रु सवार थिए । त्रिशूलीमा खसेका दुबै बसका ६५ जनामध्ये ३ जनामात्रै पौडिएर बाँच्न सकेका थिए । अहिलेसम्म २५ जनाको शव फेला परेको छ । अन्य यात्रु र दुबै बसको अवस्था अज्ञात छ ।