अन्जान परियार । घिरिङ, साउन १३
घिरिङ गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । आइतबार गाउँपालिका कार्यालयको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरि गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले कृषकलाई ५० प्रतिशत अनुदानको उक्त हाते ट्याक्टर हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाले गत आर्थिक वर्ष ०८०÷८१ को कृषि यन्त्र तथा औजार बितरणमा ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत कुल १९ लाख ६८ हजार बजेटमा ३२ वटा हाते ट्याक्टर खरिद गरेको थियो । प्रती ट्याक्टरको मुल्य ६१ हजार ५ सय रहेकोमा गाउँपालिकाले ५० प्रतिशत अनुदान व्यहोर्ने गरि छनौट भएका कृषकले ३० हजार सात सय पचास कृषकले ब्यहोरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख रवि रामदामले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै घिरिङ गाउँपालिका अध्यक्ष थापाले अनुदानमा प्राप्त कृषि औजारको पुर्ण सदुपयोग हुनु पर्ने बताए । उनले अनुदानको नाममा बाबुको, दाईको वा भाईको नामबाट झुक्याएर अनुदान लिने कोहि छन् भने त्यस्तो गतिविधि नगर्न आग्रह गरे ।
गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएको भन्दै अध्यक्ष थापाले उत्पादनको आधारमा कृषकलाई गाउँपालिकाले सम्मान स्वरुप सहयोग अनि अनुदान पनि सोही अनुसार वितरण गरेको बताए । अनुदानमा प्राप्त सामाग्री सहि तरिकाले सदुपयोग गर्न अनुरोध गर्दै अध्यक्ष थापाले अनुदानको हाते ट्याक्टरको कहिँकतै दुरुपयोग गरेको पाइएमा अन्य सेवा सुबिधाबाट बन्चित गर्ने बताए ।