दमौली, साउन १४
म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष ०८०।८१ को बार्षिक प्रगति समिक्षा तथा चालु आ.व २०८१।०८२ को बजेट तथा कार्यक्रम र दोश्रो आवधिक विकास योजना २०८१।०८२–०८५।०८६ को सार्वजानिक गरेको छ । सोमबार म्याग्दे–३ ठुलो बगैंचा स्थित नवनिर्मित सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि उक्त तिन वटै विषय सार्वजानिक गरेको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पारित भएका विकास आयोजनालाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए । दोश्रो पन्चवर्षिय आवधिक योजना सार्वजानिक गर्नु ज्यादै राम्रो काम भएको हुँदा पन्चवर्षिय लक्ष्य हाँसिल गर्ने गरि काम गर्नुपर्ने वाग्लेले बताए ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिकाले समृद्ध म्याग्दे निर्माणकालागि ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पुर्वाधार’ भन्ने दोश्रो आवधिक योजनाको नारा तय गरेको बताए । ०८१।०८२–०८५।०८६ को पन्चवर्षिय दोश्रो आवधिक योजनामा म्याग्दे गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अध्यक्ष श्रेष्ठले दोश्रो आवधिक योजना, उपाध्यक्ष घिमिरेले चालु आ.व २०८१।०८२ को बजेट तथा कार्यक्रम तथा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गत आर्थिक वर्ष ०८०।८१ को बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरम म्याग्दे सभा हल निर्माणकोलागि ८ आना जग्गा उपलब्ध गराउने सरस्वती घिमिरेको परिवार, सेवा अवधि पुरा गरेका महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट कर्मचारी, प्रत्येक वडाका एक एक वडा उत्कृष्ट उपभोक्ता समितिहरुलाई सम्मान गरिएको थियो । कर्मचारी तर्फ पशुसेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाह र कृषि विकास उपशाखाकी प्रमुख रुक्मिता घिमिरे उत्कृष्ट भएका थिए ।
सो अवसर एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र छात्रालाई पनि सम्मान गरिएको थियो ।