दमौली, साउन १४
म्याग्दे गाउँपालिकाले दोश्रो पन्चवर्षिय आवधिक योजना २०८१।०८२–०८५।०८६ को मुख्य नारा ‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पुर्वाधार’ तय गरेको छ । उक्त नारा कार्यान्वयन गर्न दोश्रो पन्चवर्षिय आवधिक योजना तयार गरि गत साउन १ गतेदेखी लाग्ु गरिएको छ । सोमबार म्याग्दे–३ बेल्टार ठुलो बगैंचा स्थित नवनिर्मित सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि उक्त दोश्रो आवधिक योजना सार्वजानिक गरेको हो ।



नेपाल सरकारले सन २०१६ देखी २०३० सम्मका लागि दिगो विकासका विभिन्न १७ वटा लक्ष्य निर्धारण गरेको सन्दर्भमा यसैलाई आधार मानेर म्याग्दे गाउँपालिकाले पनि दोश्रो पन्चवर्षिय आवधिक योजना तयार गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
साथै नेपालको संविधानले निर्देश गरे अनुसारको नीतिसँग समायोजन हुने गरि दिगो विकासको लक्ष्य हाँसिल गर्न आफ्नो पालिकाको योजनाबद्ध आवधिक र दिर्घकालिन योजना तर्जुमा गरि सोही अनुसार कार्यान्वयन गर्नुपर्ने मुख्य आवश्यकता रहेको अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले दोश्रो पन्चवर्षिय आवधिक योजना कार्यान्वयनकोलागि आगामी आर्थिक वर्षमा भौतिक पुर्वाधार तर्फ गाउँपालिकाको प्रशासनिक भवनको अपुरो संरचना, सभाहल भवन, वडा कार्यालयमा थालनी भएका उपरा भवन संरचना, १० शैयाको अस्पताल निर्माण, ल्यान्डफिल्ड साईडको अपुरो संरचना, वडा स्तरीय सडक संरचना निर्माण र स्तरोन्नती गर्ने कामलाई प्राथमिकता दिईएको बताए ।
त्यसैगरि कृषि तथा पशुको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई जस्ता क्षेत्रमा लगानी अभिबृद्धी तथा पर्यटन पुर्वाधारको विकास र प्रबद्र्धनका कार्यक्रम रहेको छ । त्यस्तै उर्जाको विकास, विस्तार र सुदृढिकरण, घरेलु उद्यमको विकास, स्वरोजगारी सिर्जना तथा बेरोजगारी समस्याको समाधानलाई पनि प्रमुख प्राथमिकतामा राखिएको उपाध्यक्ष घिमिरेले बताए ।
त्यसैगरि जलश्रोतको विकास र सिंचाई, खेलकुँद पुर्वाधारको विकास र विस्तार, मानव संशाधनको विकास तथा लक्षित वर्ग हितमुलक कार्यक्रमहरु सन्चालन, वन वातावरण, बृक्षारोपण, जलवायु परिवर्तनको असर न्युनिकरण, विपद तथा प्रकोप व्यवस्थापन र सिजनल रुपमा आउने रोग तथा माहामारी नियन्त्रणलाई पनि प्रथामिकतामा राखिएको छ ।

सामाजिक सुरक्षा, सामाजिक संरक्षण, सामाजिक न्याय, सामाजिक समावेशीकरण तथा गरिवी निवारण, स्वरोजगार र युवा पलायनलाई नियन्त्रण गर्ने कार्यक्रमलाई दोश्रो पन्चवर्षिय आवधिक योजनाको मुख्य प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
गाउँपालिका क्षेत्रको समष्टिगत आर्थिक तथा सामाजिक विकासका लागि लक्ष्य तथा उद्देश्यहरु निर्धारण गरि निश्चित अवधिभित्र सो लक्ष्य हासिल गर्न उपयुक्त नीति, रणनीति तथा प्राथमिकताहरु प्हिचान एवं परिभाषित मार्गचित्र नै गाउँपालिको दोश्रो आवधिक योजना रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिईएको छ । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने भएको छ ।












