दमौली, साउन १५
सर्वाेच्च अदालतबाट केही दिन अघि भ्रष्टाचारी ठहर भएका पुर्व मन्त्री गोविन्दराज जोशीका पुत्र दिपकराज जोशीले राज्यले आफुलाई भ्रष्टाचारीको छोरा भएको नयाँ परिचय दिएको गुनासो गरेका छन् । मंगलबार साँझ सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै दिपकले आफ्नो वुवालाई २२ बर्ष पछि फसाईएको गुनासो गरे ।



दिपकले भनेका छन् ‘आफु रोपिएको र उम्रिएको माटोमा नै फक्रिनु पर्छ, आफ्नैँ देशमा केहि गर्नुपर्छ भनेर स्वदेश फर्किएको मलाई यतिबेला राज्यले नयाँ परिचय दिएको छ । त्यो हो भ्रष्टाचारीको छोरो । अस्ति सर्वोच्च अदालतले मेरो बुवा गोविन्दराज जोशीलाई ६९ लाख १५ हजार भ्रष्टाचार गरेको भनेर भ्रष्टाचारी ठहर गर्दै दोषी प्रमाणित गरको छ । जसले मलाई थुप्रै प्रश्नहरूको जवाफ खोज्न बाध्य बनाइरहेको छ । अझै भनौँ आफैँ भित्र सवाल जवाफको जुहारी चलिरहेको छ ।’
‘जसमध्येको एउटा प्रश्न हो अकुत सम्पत्ति आर्जन गर्ने मानिसको जीवनशैली त बडो विचित्रको हुनुपर्ने हो । तर किन मेरो परिवारको जिवनस्तर त्यस्तो छैन ? आज पनि मेरो घरमा बुवाआमा सुत्ने कोठामा एयर कण्डिसन होइन सामान्य कुलर छ । मेरो कोठामा स्ट्यान्ड फ्यान छ । हाम्रो पाउना सुत्ने कोठामा पंखा समेत छैन । मेरी आमा जाडोको मौसममा ग्याँस धेरै सकिन्छ भनेर ग्याँसबाट चल्ने हिटरको तीनवटा बर्नरमध्ये एउटा मात्रै बर्नर बालेर आफूलाई न्यानो बनाउनुहुन्छ । मेरो बुवा आमाले बाहिर रेस्टुरेन्टमा गएर खाएको विरलै देखेको छु । विदा मनाउने नाउँमा देशविदेश घुम्न गएको अहिलेसम्म देखेको छैन । जाडोको बेलामा पुरानो सोलारले पानी तातो नहुँदा चिसै पानीले नुहाएको देखेको छु । जुन जिवनस्तर मध्यम वर्गीय परिवारका प्राय जसो सबैले भोगेका छन् । त्यो भन्दा पृथक केहि नदेख्दा मलाई अचम्म लाग्छ । अनि सोच्छु कहाँ छ त्यो अकुत सम्पत्ति ? कसैले खोजेर ल्याइदिए पनि हुने ।’ दिपकले चुनौती दिएका छन् ।
दिपकले भनेका छन्–‘मैले यो लेखिरहँदा यो दाबी गर्न खोजेको होइन कि मेरो बुवा दुधले नुहाउनु भएको छ । नेपाली कांग्रेसको सदस्य भएको नाताले र पार्टिगत भूमिका निर्वाह गर्ने क्रममा गोविन्द राज जोशी लगायत सबै नेताहरुले पार्टीको लागि गरेको संस्थागत र नीतिगत रुपमा भएका त्रुटिहरुको जिम्मेवारी लिनै पर्छ । यदि कांग्रेसले संस्थागत भ्रष्टाचार र नीतिगत नराम्रा काम र घोटालाहरुको जिम्मेवारी बहन गर्यो भने पार्टीका ९९ प्रतिशत मान्छेहरु कारबाहीमा पर्नेछन् । व्यक्तिगत रूपमा झन्डै ६० प्रतिशत कांग्रेसका नेताले घोटाला गरेका छन् । तर व्यक्तिगत रूपमा हाम्रो परिवारले देशको सम्पति हिनामिना गरेको छैन । गरेको छ भने के मा गरेको छ प्रष्ट पारिदिनु होला ।’
नेपाली काँग्रेसका नेताहरु प्रति आक्रोस व्यक्त गर्दै दिपकले भनेका छन् ‘गोविन्दराज जोशीले न त धमिजा, लाउडा काण्ड नै गराए, न त सुडान घोटाला, न त भुटानी शरणार्थी काण्ड नै गराए, न त बालमन्दिर काण्ड नै गराए । ती सबै काण्ड गराउनेहरू र उनीहरुको परिवार अहिले पनि राजनीतिमा शिर ठाडो गरेर हिँडिरहेका छन् । र समाजले उनीहरूलाई जय जयकार गर्दै सहर्ष स्वीकारेको छ ।’
‘तपाइँ आज पनि हाम्रो घरमा आउन चाहनुहुन्छ भने आउनुस् तपाईँलाई यो देशले भ्रष्टाचारी ठह¥याएको गोविन्दराज जोशीको घरमा निमन्त्रणा छ । हामीसँग तीन चार दिन बस्नुहोस् । हामी सँगै खाना, खाजा खानुहोस्, त्यसपछि पनि तपाईँलाई गोविन्दराज जोशीले भ्रष्टाचार गरेको गन्ध आयो भने तपाईंको घरमा बाँकी जीवन नोकर भएर बस्ने प्रतिज्ञा गर्छु । यदि भ्रष्टाचारको गन्ध आएन भने मेरो परिवारले २२ वर्ष सम्म भोगेको मानसिक यातनाको क्षतिपूर्ति के हुन्छ र कुन कुराले परिपुर्ति गर्दछ ?’
‘यो पब्लिसिटी स्टन्ट होइन । सोचाइ, बोलाई र काम गराईको तालमेल नमिलेको समाजमा म जे सोच्छु त्यो बोल्छु जे बोल्छु त्यो गर्छु । मलाई झुटको सहारा लिएर जित हासिल गर्नुभन्दा सत्य मार्गमा हिँडेर हार्न आनन्द आउँछ । म सोझो छु किनभने सत्य सोझो हुन्छ । र यो पनि हो कि सोझाहरू र सिधाहरु सदैब निसानामा हुन्छन् । भनिन्छ नि बाङ्गो भन्दा सिधा रुख छिटो काटिन्छ ।’ दिपकले गुनासो गरेका छन् ।