दमौली, भदौ ३०
भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । डुम्रे–वेशिशहर सडक खण्डको भानु नपा–९ बाईजाँगर नजिकैको अर्चलधाराबाट १ कि.मि पक्की सडकको यात्रापछि पुगिने उक्त ग्रिन हिमालय फार्मस्टे निकै सुन्दर र रमणीय स्थानमा रहेको छ ।
निजामती सेवाका उच्च पदस्थ कर्मचारी राजेन्द्रदेव पाण्डे र उनकी पत्नि गिता अधिकारी दम्पत्तीले पुख्र्यौली थलोमा उक्त फार्मस्टे सन्चालन गरेका छन् । निजामती सेवाका सहसचिव राजेन्द्रदेव पाण्डे हाल धादिङको प्रमुख जिल्ला अधिकारी रहेका छन् । उनी केही वर्ष अघि भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत थिए ।
वारि पारि पहाड र पहाडै पहाडको विचमा बग्ने चितीखोलाको नामबाट उक्त बस्तीको नाम पनि चितीखोला नै राखिएको छ । पाण्डे दम्पत्तीले आफ्नो परम्परागत पुख्र्याैली घरको मर्मत सम्भार र रङरोगन सहित उक्त फार्मस्टेको मुख्य कार्यालय बनाएका छन् । करिब ७० रोपनी क्षेत्रफलको जग्गामा एग्रो फार्म सन्चालित छ ।
सरकारी सेवाबाट अवकाश पाएपछि बाँकी जीवन आफ्नै पुख्र्यौली ठाउँमा बिताउने उद्देश्यले अहिले देखी नै बाँझो जमिनको सदुपयोग गरि फार्मस्टे सन्चालन गरेको पाण्डेले बताए । फार्मस्टे चलाउने पाण्डेको योजनामा पत्नि गिताले एनजीओ र सफ्टवयर कम्पनीको आकर्षक जागिर त्यागेर साथ दिइन् ।
फार्मस्टे सन्चालनको लागि काठमाडौं नैकापमा रहेको साँढे दुई तलाको घर बेचेर लगानी गरेको पाण्डेले बताए । उक्त फार्मस्टेमा हालसम्म अढाई करोड भन्दा बढि लगानी भईसकेको पाण्डेले बताए । उक्त फार्मस्टे हाल पत्नि गिताले सन्चालन गर्छिन् । पाण्डे अवकास पाउन अझै केही वर्ष बाँकी नै रहेको छ । आफ्नो अवकास पछिको जिवन बुढेसकालमा के कङ्क्रिटको जङ्गलमा बिताउनु जस्तो लागेर आफ्नै थालथलोमा भएको जग्गाजमिनलाई सदुपयोग गरेर सात वर्ष अघिबाट फार्मस्टे चलाएको पाण्डेले बताए ।
फार्मस्टेमा विभिन्न प्रजातिका फूलहरू फुलेका छन् । उक्त ग्रिन बाटिकामा तुलसी, जाई, पारिजात, लालुपाते, सयपत्री, गुलमोहर, कल्की, मखमली, बेली, इन्द्रकमल, सर्वदा, रङ्वदना, चतुराले, गुर्दौली र धुर्सिल आदि फुलहरु फुलेको देख्न सकिन्छ ।
चिती खोला गाउँमा अधिकांश मगर जातीका बासिन्दा बसोबास गर्छन् । मगरजातीको संस्कृती झल्काउने संरचना पनि उक्त फार्मस्टेमा निर्माण गरिएको छ । मगर परम्परा झल्काउने घुमाउने घर, उक्त गोलाकार घर भित्र विशिष्ट वास्तुकलाको निर्माण यसको महत्वपुर्ण विशेषता समेत रहेको छ । ति घरको घुमाउरो पिँढीमा ढिकी र जातो, भित्तामा हलो, जुवा, घुम र छत्रीलाई अड्याइएका छन् ।
कृषिलाई पर्यटनसँग जोड्न सकिन्छ भन्ने सन्देश दिन ग्रिन हिमालय फार्मस्टे सन्चालन गरेको गिताले बताइन् । फार्मस्टेमा आउने पाहुनालाई बास बस्नको लागि घरहरु पनि निर्माण गरिएको छ । त्योसँगै ‘ब्यारेल हाउस’ नाम दिइएको दुइटा ठुलो ह्युमपाइप आकारका कोठा पनि निर्माण गरिएका छन् । ती संरचना सिमेन्टेड हुन् तर काठको प्राकृतिक सौन्दर्यको नक्कल गरी डिजाइन गरिएकोले झलक्क हेर्दा काठजस्तै लाग्छन् । लिचीको बोटमुनि निर्माण गरिएको घरको नाम भने ‘ट्री हाउस’ राखिएको छ । अलिक धेरै पाहुनाकोलागि गाउँमै खोलिएको चितीखोला सामुदायिक होमस्टे पनि सन्चालनमा छ ।
पाहुनाको भोजनको लागि फलफूलमा केरा, अम्बा, नासपाती, स्याउ, सुन्तला, आरु, अङ्गुर, स्ट्र बेरी, कागती निबुवा, आँप, लिची, एभोकाडो र अनारका बोटहरू लगाईएको छ । ति सबै फलफुलका विरुवाले उत्पादन पनि दिन सुरु गरिसकेको छ । साथै मासुका पारखीहरुकोलागि कालिज, लोकल तथा ब्रोइलर कुखुरा पनि पालिएको छ । अनि दुध दहिको पारखीकोलागि गाई पनि पालिएको छ ।
कुल ७० रोपनी जग्गामा सन्चालित उक्त फार्म हाउसमा सिजनल फलफूल सहित अर्गानिक तरकारी, धान र मकै, कोदो, बेसार आफ्नै खेतबारीमा उब्जनी हुने गिताले बताइन् । नुन बाहेक सबै आफ्नै खेतबारीमा उब्जाउने उनले बताइन् । फार्मस्टेबाट मनासलु, लमजुङ, बुद्घ हिमाल, हर्क पिक, र गणेश हिमाललगायतका उच्च शिखरहरू प्रष्टसँग देख्न सकिन्छ ।