जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३०

भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । डुम्रे–वेशिशहर सडक खण्डको भानु नपा–९ बाईजाँगर नजिकैको अर्चलधाराबाट १ कि.मि पक्की सडकको यात्रापछि पुगिने उक्त ग्रिन हिमालय फार्मस्टे निकै सुन्दर र रमणीय स्थानमा रहेको छ ।

निजामती सेवाका उच्च पदस्थ कर्मचारी राजेन्द्रदेव पाण्डे र उनकी पत्नि गिता अधिकारी दम्पत्तीले पुख्र्यौली थलोमा उक्त फार्मस्टे सन्चालन गरेका छन् । निजामती सेवाका सहसचिव राजेन्द्रदेव पाण्डे हाल धादिङको प्रमुख जिल्ला अधिकारी रहेका छन् । उनी केही वर्ष अघि भानु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत थिए ।

वारि पारि पहाड र पहाडै पहाडको विचमा बग्ने चितीखोलाको नामबाट उक्त बस्तीको नाम पनि चितीखोला नै राखिएको छ । पाण्डे दम्पत्तीले आफ्नो परम्परागत पुख्र्याैली घरको मर्मत सम्भार र रङरोगन सहित उक्त फार्मस्टेको मुख्य कार्यालय बनाएका छन् । करिब ७० रोपनी क्षेत्रफलको जग्गामा एग्रो फार्म सन्चालित छ ।

सरकारी सेवाबाट अवकाश पाएपछि बाँकी जीवन आफ्नै पुख्र्यौली ठाउँमा बिताउने उद्देश्यले अहिले देखी नै बाँझो जमिनको सदुपयोग गरि फार्मस्टे सन्चालन गरेको पाण्डेले बताए । फार्मस्टे चलाउने पाण्डेको योजनामा पत्नि गिताले एनजीओ र सफ्टवयर कम्पनीको आकर्षक जागिर त्यागेर साथ दिइन् ।

फार्मस्टे सन्चालनको लागि काठमाडौं नैकापमा रहेको साँढे दुई तलाको घर बेचेर लगानी गरेको पाण्डेले बताए । उक्त फार्मस्टेमा हालसम्म अढाई करोड भन्दा बढि लगानी भईसकेको पाण्डेले बताए । उक्त फार्मस्टे हाल पत्नि गिताले सन्चालन गर्छिन् । पाण्डे अवकास पाउन अझै केही वर्ष बाँकी नै रहेको छ । आफ्नो अवकास पछिको जिवन बुढेसकालमा के कङ्क्रिटको जङ्गलमा बिताउनु जस्तो लागेर आफ्नै थालथलोमा भएको जग्गाजमिनलाई सदुपयोग गरेर सात वर्ष अघिबाट फार्मस्टे चलाएको पाण्डेले बताए ।

फार्मस्टेमा विभिन्न प्रजातिका फूलहरू फुलेका छन् । उक्त ग्रिन बाटिकामा तुलसी, जाई, पारिजात, लालुपाते, सयपत्री, गुलमोहर, कल्की, मखमली, बेली, इन्द्रकमल, सर्वदा, रङ्वदना, चतुराले, गुर्दौली र धुर्सिल आदि फुलहरु फुलेको देख्न सकिन्छ ।

चिती खोला गाउँमा अधिकांश मगर जातीका बासिन्दा बसोबास गर्छन् । मगरजातीको संस्कृती झल्काउने संरचना पनि उक्त फार्मस्टेमा निर्माण गरिएको छ । मगर परम्परा झल्काउने घुमाउने घर, उक्त गोलाकार घर भित्र विशिष्ट वास्तुकलाको निर्माण यसको महत्वपुर्ण विशेषता समेत रहेको छ । ति घरको घुमाउरो पिँढीमा ढिकी र जातो, भित्तामा हलो, जुवा, घुम र छत्रीलाई अड्याइएका छन् ।

कृषिलाई पर्यटनसँग जोड्न सकिन्छ भन्ने सन्देश दिन ग्रिन हिमालय फार्मस्टे सन्चालन गरेको गिताले बताइन् । फार्मस्टेमा आउने पाहुनालाई बास बस्नको लागि घरहरु पनि निर्माण गरिएको छ । त्योसँगै ‘ब्यारेल हाउस’ नाम दिइएको दुइटा ठुलो ह्युमपाइप आकारका कोठा पनि निर्माण गरिएका छन् । ती संरचना सिमेन्टेड हुन् तर काठको प्राकृतिक सौन्दर्यको नक्कल गरी डिजाइन गरिएकोले झलक्क हेर्दा काठजस्तै लाग्छन् । लिचीको बोटमुनि निर्माण गरिएको घरको नाम भने ‘ट्री हाउस’ राखिएको छ । अलिक धेरै पाहुनाकोलागि गाउँमै खोलिएको चितीखोला सामुदायिक होमस्टे पनि सन्चालनमा छ ।

पाहुनाको भोजनको लागि फलफूलमा केरा, अम्बा, नासपाती, स्याउ, सुन्तला, आरु, अङ्गुर, स्ट्र बेरी, कागती निबुवा, आँप, लिची, एभोकाडो र अनारका बोटहरू लगाईएको छ । ति सबै फलफुलका विरुवाले उत्पादन पनि दिन सुरु गरिसकेको छ । साथै मासुका पारखीहरुकोलागि कालिज, लोकल तथा ब्रोइलर कुखुरा पनि पालिएको छ । अनि दुध दहिको पारखीकोलागि गाई पनि पालिएको छ ।

कुल ७० रोपनी जग्गामा सन्चालित उक्त फार्म हाउसमा सिजनल फलफूल सहित अर्गानिक तरकारी, धान र मकै, कोदो, बेसार आफ्नै खेतबारीमा उब्जनी हुने गिताले बताइन् । नुन बाहेक सबै आफ्नै खेतबारीमा उब्जाउने उनले बताइन् । फार्मस्टेबाट मनासलु, लमजुङ, बुद्घ हिमाल, हर्क पिक, र गणेश हिमाललगायतका उच्च शिखरहरू प्रष्टसँग देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय