भानुको भन्सारमा हुलाक कार्यालय स्थापना

Devghat Online

शेयर गरौ

दमौली, असोज १

भानु नगरपालिका वडा नम्बर १ को भन्सारमा हुलाक कार्यालय स्थापना गरिएको छ । एक स्थानीय तह एक हुलाक नीति अनुसार जिल्ला हुलाक कार्यालय तनहूँको पहलमा मंगलबार भानु नगरपालिकाको मातहतमा रहने गरि हुलाक कार्यालय भानु नगरपालिका भन्सार स्थापना गरि औपचारिक सेवा शुभारम्भ समेत गरियो ।

भानु नगरपालिकाभित्रका मानेचौका र टुहुरेपसल ईलाका हुलाक तथा भानु बाईसजाँगार चोकचिसापानी तथा हालसम्म सञ्चालित वयापानी वसन्तपुर अतिरिक्त हुलाक लगायत समग्र भानु नगरपालिकाभित्र हुलाक सेवालाई सेवाग्राहीमैत्री प्रविधिमैत्री छिटोछरितो प्रभावकारी हुलाक सेवाको सञ्चालन व्यवस्थापन समन्वय सहजीकरण गर्ने भूमिका खेल्ने गरी उक्त हुलाकको स्थापना भएको जिल्ला हुलाक कार्यालय तनहुँले जनाएको छ ।

भानु नगरपालिकाका उपप्रमुख उमादेवी गोतामेको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, वडा नम्बर १ की वडा अध्यक्ष कान्छीमाया तामाङ्ग, जिल्ला हुलाका कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराई, भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायत स्थानीय आमा समूह, टोलविकास सस्था संघसंस्था प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपमेयर गोतामे र प्रमुख प्रशासकीय अधिकृत पौडेलले हुलाकले विगतदेखि नै नागरिकको विश्वासप्राप्त गर्दै सेवा प्रवाह गर्दै आइरहेकामा हालको सूचना र प्रविधीलाई आत्मसाथ गर्दै सेवा कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै यस कार्यमा आ आफ्नो तर्फबाट सद्भाभावपूर्ण सहयोग समर्थन सहकार्य रहने बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला हुलाक कार्यालय प्रमुख एवम् हुलाक अधिकृत मित्रलाल भट्टराईले हुलाक सेवालाई आधुनिक सूचना प्रविधियुक्त सेवाग्राहीमैत्री तवरले सञ्चालन र व्यवस्थापन गर्न हरसम्भव प्रयास गर्ने प्रतिवद्धतासहित यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उक्त कार्यक्रमको सञ्चालन जिल्ला हुलाक कार्यालयका डाँक शाखा प्रमुख डालाराम बसौलाले र स्वागत मन्तव्य खरिदार हिमलाल ढुंगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू