दमौली, असोज १४
मंगलबार विहान आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी पालिकादेखि चोकसम्मको सडक खण्डमा दिनहुँ दर्जनौ सवारी साधन दुर्घटना बारेमा सामाजिक सन्जालमा स्टाटस लेखे । सडक डिभिजन कार्यालय तनहुँ तर्फ लक्षित गर्दै अध्यक्ष चुमानले भने ‘उक्त दुर्घटनाको कारण अलकत्रा बग्नु हो भनेर सम्बन्धित निकायबाट हजार पटक जानकारी तथा अनुगमन र तत्काल मर्मतको आश्वासन पाइयो । तर काम भने भएन ।’
‘चाड पर्व नजिकिदै जाँदा सडकमा चाप पनि बढ्ने हुँदा झन् अकल्पनीय घटना नहोला भन्न सकिन्न, प्रकृयाकै समस्या हो भने गाउँपालिकालाइ जिम्मेवारी देउ हामी आफै बनाउछौ भन्दा पनि मिल्दैन’ अध्यक्ष चुमानले लेखेका छन् ‘आज बेलुका सम्मपनि सम्बन्धित पक्ष मर्मत गर्न नआए डोजर लगाएर चिप्लो भाग फाल्ने जानकारी गराउदछौ, यती धेरै दुर्घटना हुँदा पनि न संघीय मन्त्री न सघिय जनप्रतिनिधिले संघीय सरकारको दायित्व भित्र को यो सडक मर्मत गर्न पहल नगर्नु दुखद कुरा हो । अब के डोजर लायो भनेर पालिकालाइ मुद्दा लाउन आउनु होला ?’
आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले मंगलबार साँझसम्म सम्बन्धित पक्ष उक्त सडकको मर्मत गर्न नआए गाउापालिकाले डोजर लगाएर सडकको चिप्लो भाग फाल्ने चेतावनी दिए लगत्तै तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेको सचिवालयले मंगलबार फेसबुक मार्फत नै जवाफ फर्काएको छ ।
आँबुखैरेनीको चिप्लो सडक र दुर्घटना शिर्षकमा स्टाटस लेख्दै सांसद वाग्लेको सचिवालयले सडक डिभिजन कार्यालयको बचाउ गरेको छ । सांसद वाग्लेको सचिवालयले लेखेको छ–‘बजार क्षेत्रमा चिप्लो सडकका कारण दुर्घटनाहरु बढेकोबारे स्थानीय साथीहरुले संघीय सांसद डा. वाग्लेको ध्यान आकृष्ट गर्नुभएको छ । उहाँ भर्खरै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण छोट्याएर फर्कनुभएको छ । सडक विभागका महानिर्देशक ई. रामहरी पोखरेल, तनहुँका प्रजिअ जनार्दन गौतम र तनहुँ स्थित सडक डिभिजन प्रमुख राजीव श्रेष्ठ सबैसँग सांसदले छलफल गर्नु भएको छ ।’ सडकका ठेकेदारले काम सम्पन्न गरेको Defect Liability Period लाई ध्यान दिई तुरुन्तै तनहुँ आमन्त्रण गरिएकोमा बाढी–पहिरो र सडक अवरुद्ध भएकोले १–२ दिन समय लाग्ने र ठेकेदारसँगको परामर्शमै सडक खस्रो बनाउन प्रिमिक्स वा बालुवाको उपयोग गर्ने विकल्पमा गृहकार्य भैरहेको राजीव श्रेष्ठले बताउनुभएको छ । प्राविधिक र आर्थिक तयारी गरेर काम सफल बनाउन निरन्तर फलोअप मा छौं, सस्तो प्रचारबाजीमा कोही नलागौ ।’
आबुँखैरेनी गाउँपालिका चोक देखी आबुँखैरेनी बजारको मुख्य चोकसम्म अलकत्रा बगेर सडक चिप्लो हुँदा दिनहुँ दुर्घटना भईरहेको छ । यसबारेमा पटक पटक सरोकारवालाहरुले अनुगमन र काम गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसबारेमा सांसद वाग्ले र उनको सचिवालय जानकार नहुने कुरै छैन । तर गाउँपालिकाका अध्यक्षले अन्तिम चेतावनी दिएपछि सांसद वाग्लेको सचिवालयले स्टन्टबाजी गरेको छ । तनहुँको दर्जनौं विकास आयोजनामा पटक पटक गरिएको स्टन्टवाज जस्तै आबुँखैरेनीको सडकमा पनि सांसद वाग्ले र उनको सचिवालयले स्टन्टवाज गरेको छ ।
घुमाउनेमा १० वर्ष अघि देखी निर्माण सुरु भएर अलपत्र परेको मोटरेवल पुलका निर्माण कार्य सुचारु गराउने विषयमा पनि सांसद वाग्लेले पटक पटक स्टन्टबाजी गरिरहेका छन् । तर उनको नेतृत्व र पहलमा कुनै प्रतिशत पनि काम अगाडी बढेको छैन । जुन बिन्दुमा काम रोकिएको छ, घुमाउनको पुल अहिले पनि त्यही बिन्दुमा नै छ । तर वाग्लेले दर्जन पटक भन्दा बढि त पुल निर्माण क्षेत्रको अनुमगन गरेर प्रचार प्रसार नै गरिसके ।