चितवन, असोज १५
नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले नारायणीमा आएको बाढीका कारण डुबानमा परेको देवघाटको वृद्धाश्रममा सरसफाइ गरेका छन् ।
एमालेको नेपाल राष्ट्रिय युवा संघ चितवन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) चितवनका युवा विद्यार्थीहरुले मंगलबार सरसफाइ गरेका हुन् ।



देवघाटमा रहेको रोटरी करुणालय (वृद्धाश्रम) तथा थाहा सदावर्तमा सरसफाइ गरिएको हो । उक्त आश्रममा बाढी पस्दा क्षति पुगेको छ । आश्रमका कोठाभित्र ३ फिटसम्म माटो भरिएको थियो ।
एमाले निकट युवा विद्यार्थीहरु सोही माटो फाल्न आश्रम पुगेका हुन् । कार्यक्रममा एमाले चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगानासहित युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एमाले चितवनका अध्यक्ष कमलराज पाठकले करिब १०० जना युवा विद्यार्थीको उपस्थितिमा काम थालिएको बताए । भवनका कोठामा थुपरिएको माटो निकालेर नसकिएमा युवा विद्यार्थीलाई भोलि पनि खटाउने बताए । एमाले विगतदेखि नै यस्ता सामाजिक कार्यमा जोडिँदै आएको बताउँदै उनले त्यसलाई निरन्तरता दिँदै यो सरसफाइ गरिएको बताए । युवा विद्यार्थीहरुलाई सामाजिक कार्यमा अगाडि बढाउनुपर्छ भन्ने हेतुले पार्टीले नै निर्णय गरेर यस्ता काममा खटाउने गरेको उनको भनाइ छ ।
देवघाटका अन्य भवनहरुमा क्षति पुगेको देखेको बताउँदै अध्यक्ष पाठकले यहाँका स्थानीयसँग बसेर नेकपा एमालेले आवश्यक सहयोग गर्ने बताए ।आश्रमका अध्यक्ष उत्तमलाल चुकेले आश्रममा रहेका बाआमाका लत्ताकपाडा लगायतका सबै सामग्री समेत नष्ट भएको बताए । उनले सौचालय तथा बाथरुम पनि जाम भएको जानकारी दिए ।
आश्रममा रहेका ५ वटा भवनका कोठामा ३ फिटसम्म माटो भरिँदा निकै समस्या परेको उनको भनाइ छ । आश्रममा रहेका बाआमालाई अन्य आश्रममा लागि राखिएको उनले जानकारी दिए । यस्तो परस्थितिमा एमाले पार्टीका तर्फबाट सहयोग भएको प्रति खुसी र आभार व्यक्त गर्दै उनले अन्य पार्टीलाई पनि सहयोग गर्न आह्वान गरे । सरसफाइमा सशस्त्र प्रहरी र रोटरी क्लवले पनि सहयोग गरेको उनले जानकारी दिए । उनले सरसफाइमा अझै सहयोगको आवश्यक रहेकाले अरुलाई पनि सहयोग गर्न अपिल गरेका छन् ।