नाल्दीघाटको पहिरो नहटाउँदा बुद्धसिंह मार्ग सन्चालन हुन सकेन

Devghat Online

शेयर गरौ

दमौली, असोज २१

पृथ्वीराजमार्गको बैकल्पीक सडकको रुपमा लिइएको बुद्धसिंह मार्ग अझै सन्चालन भएको छैन । गत असोज १०–१२ गतेको वर्षापछि उक्त सडकको दर्जनौं स्थानमा साना ठुला पहिरो गएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो । त्यसमध्ये अधिकांश स्थानको पहिरो कतै स्थानीय तह त कतै पुर्वाधार विकास कार्यालयले हटाएपनि बन्दिपुर गाउँपालिकामा पर्ने नाल्दीघाटको पहिरो भने अझै हटाउन सकिएको छैन ।

पहिरोका कारण उक्त सडकको व्यास नपाको बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघर लगायतका स्थानमा सडक अवरोध भएको थियो । ति मध्ये नाल्दीको बाहेक अन्य पहिरो हटाईएको बुद्धसिं मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले बताए । नाल्दीको पहिरो हटाउन पटक पटक माग गरेपनि सुनुवाई नभएको उनले बताए । पुर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरो हटाउन नसकिएको बताएको थापाले बताए ।

नाल्दीको पहिरोको कारण यातयात सन्चालन नहुँदा बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६, आबुँखैरेनी गाउँपालिकाको वडा नम्बर ५, देवघाट गाउँपालिकाको वडा नम्बर ३ र ४ का जनता प्रतक्ष्य मारमा परेका छन् त्यसबाहेक बुद्धसिंह मार्ग हुँदै मोटरसाईकलमा उक्त सडक हुँदै चितवन जाने आउने यात्रुहरु पनि मारमा परेको थापा मगरेले बताए ।

सडक सन्चालन नहुँदा विरामी, जेष्ठ नागरिक तथा महिला र बालबालिकालाई समस्या हुने थापाले बताए । उक्त सडकको पहिरो पन्छाई यथासक्य यातयात सुचारु गराउन बन्दिपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पुर्वाधार विकास कार्यालयका प्रमुखलाई पटक पटक ध्यानाकर्षण गराईएको थापाले बताए ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्ग अन्तर्गत दमौलीदेखि सँुढे सम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

दमौलीदेखि सुडेसम्म करिब १० किमि खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण कार्य अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि कर सहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इन्जिनियर धनमाया मिश्रले जानकारी दिइन् । उनका अनुसार उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौता अनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवेका साथै सडक कालोपत्रे गरिनेछ ।

चितवनको घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिने जनाइएको छ । दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बसहरू तथा दुई पाँग्रे सवारी साधन आवतजावत गरेपनि दुई पाँग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन तर बस तथा अन्य सवारी साधन भने पुलको अभावमा तनहुँ क्षेत्रमै रोकिन गरेका छन् । पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे–आँबुखैरेनी–मुग्लिन हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू