देवघाट , असोज २४
आज बडा दशैंको सातौं दिन हिन्दु धर्मावलम्बीहरुको घरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी दुर्गालाई आह्वान गर्ने चलन छ। घरको पूजाकोठामा आज नौ प्रकारका बोटविरुवा र फलफूल राख्ने चलन छ।
आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष पूजाकोठामा भित्र्याइन्छ। आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन्। त्यहाँबाट काठमाडौंको जमलसम्म यतैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ।
त्यहाँबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टनसहित ब्याण्डबाजा र पञ्चैबाजा बजाएर सांस्कृतिक नाचगान गर्दै लावालस्करका साथमा फूलपाती हनुमानढोका भित्र्याइन्छ।
आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फुलपाती बढाइँ गर्ने छ।