शालिकराम सिग्देल
भिमाद नपा–१ किहुँ
झरी सकिएर शरदकोबिच बिहान हल्का कुहिरो पछि मिठो घाम लाग्थ्यो, खेतमा धान पसाउँथ्यो बारिमा कोदो अनि पहेंलै तोरी फुल्थ्यो ! यता टन्न सुलिमा मकै गोठमा लैना भैंसी हुन्थे, उता हरियालि सङ्गै मनोरम प्रकृति हुन्थ्यो र पो रमाइलो दशैं आए झै हुन्थ्यो !



कस्ता रमाइला थिए ती गाउँघर परदेशीको क्यासेटले रन्किन्थ्यो दिनभर, साहिला दाई पयो मिलाउने हामी घुम्दै पिङ बाट्ने, चोकमा लिङ्गे अनि भञ्ज्याङमा जाँते र रोटे पिङ हालिन्थ्यो र पो दशैंको रौनक छाउँथ्यो !
बाटो सफा गर्न कटुवालद्वारा उर्दी जारी गराइन्थ्यो , पहेंलै पाकेका चरिले चाखेका वेलौति खाजा खाइन्थ्यो ! गाउँलाई खोला बाँडेर बहुविष हालिन्थ्यो, सीप कम हुनेले पनि त माछा समातिन्थ्यो, रातभर झ्याउरे हुन्थ्यो र पो दशै आएको भान हुन्थ्यो !
घरमा माकुराको जालो फालिन्थ्यो, रातो र कमेरो माटो ल्याइन्थ्यो घर चट्ट पारिन्थ्यो ! माटो मुछि डिल लाइन्थ्यो गाईको गोबरले पोतेर आँगन सफा गरिन्थ्यो, दुई तीन दिनलाई घाँसको भारी लडाइन्थ्यो बल्ल पो दशैंको रौनक छाउँथ्यो !
सेलरोटी पकाउन घरकै तोरी पेलिन्थ्यो, आज जस्तो भेलिको चलन थिएन खुदोको जोहो गरिन्थ्यो ! हप्तादिन अगाडि मालभोग अनि मुघ्रे केराका घरि काटिन्थ्यो, दशैंलाई भनेर घरघरमा पालेको एमानको खसी आँगनमा ढालिन्थ्यो र पो अर्गानिक दशैं मनाइन्थ्यो !
विश्वास थियो ठुलाको शंका कम गरिन्थ्यो, एैंचोपैंचो बढि चल्थ्यो पारिवारिक मायामोह गाढा हुन्थ्यो, साथिभाईको भेटघाटका लागि औपचारिकता मात्र होइन सार्थक पुनर्मिलन कार्यक्रम हुन्थ्यो ! टपरीमा सेलरोटी अनि सफा होइन नयाँ नोठ खल्तिमा हाली एकान्तमा दक्षिणा गनिन्थ्यो र पो साँच्चै दशैं आएको महशुस हुन्थ्यो !
वडा दशैं २०८१ को सबैमा हार्दिक मंगलमय शुभकामना !