दमौली, असोज २८
ट्राफिक प्रहरीमा कार्यरत एक जना हवल्दारको दुर्घटनामा परेर मृत्यु भएको छ।
असोज २८ गते ससोमबार बिहान गोरखाबाट तनुहँँतर्फ जाने क्रममा आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा ग १ ज ८४१८ नम्बरको माइक्रोले ठक्कर दिँदा ट्राफिक प्रहरी हवल्दार भक्तबहादुर नहर्कीको निधन भएको हो।
गोरखा नगरपालिका–१४ स्थायी घर भएका ३७ वर्षीय नहर्की जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत थिए। उनी आफ्नै कामको सिलसिलामा मोटरसाइकलमा सवार थिए।
सोही क्रममा विपरित दिशाबाट आएको माइक्रोले उनी सवार गण्डकी एएए ०० १५ नम्बरको मोटरसाइकललाई बिहान करिब ८ बजेर ३५ मिनेटको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले बताए।
उनका अनुसार दुर्घटनामा परेर नहर्कीको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै आँबुखैरेनी अस्पतालमा उपचारका लागि पुर्याइएकोमा चिकित्सकले ८ बजेर ५१ मिनेटमा मृत घोषणा गरेका हुन्।