देवघाट, कार्तिक २
देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाट क्षेत्रमा सन्चालित सहकारी संस्थाहरु मध्ये उत्कृष्ट र सफल रुपमा सन्चालन हुँदै आएको छ । देवघाटका महिलाहरुले सन्चालन गरेको उक्त सहकारीले बचत तथा ऋणको कारोबारसँगै दुध संकलन, दुग्धजन्य बस्तुको उत्पादन, डेरी सन्चालन, पशुपानलन, तरकारी खेती तथा सामुहिक रुपमा नगदेबालीको खेती जस्ता आय आर्जनका कार्यमा सदस्यहरुलाई आवद्ध गराउँदै आएको छ ।
उक्त सहकारीमा हाल दैनिक ५७० लिटर दुध संकलन हुँदै आएको छ । संकलित दुधलाई आफ्नै भवनमा रहेको उद्योगबाट विभिन्न बस्तु बनाई विक्री गर्दै आईरहेको छ । सहकारीमा संकलित दुधबाट दुग्धजन्य पदार्थहरु दूध, दहि, घ्यु, पनिर, कुल्फी, आईसक्रिम र खुवा लगायत उत्पादन गर्दै आईरहेको सहकारीकी अध्यक्ष तारादेवी पन्तले बताइन् । सहकारीमा हाल ७९४ जना शेयर सदस्य रहेका छन् । सहकारीमा देवघाटको वडा नम्बर ५ तथा वडा नम्बर ४ र १ का महिलाहरु सदस्य छन् । जसमा अधिकांश वडा नम्बर ५ का छन् ।
शेयर सदस्य मध्ये अधिकांश पशुपालनमा संलग्न छन् । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिद गरि दुग्धजन्य बस्तुहरु उत्पादन गरि विक्रि गर्दै आएको छ । सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित दुग्धजन्य बस्तुहरु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैडाकोट लगायतका बजारहरुमा डेरी पसल मार्फत विक्रि हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा विक्रि हुँदै आएको ओझाले बताईन् । यसबाहेक बचत संकलन तथा ऋण लगानी मार्फत आफ्ना शेयर सदस्यहरुलाई व्यवसायमा सघाउने तथा उनीहरुको आर्थिक हैषियत सुधार्ने सहकारीको अर्काे उद्देश्य रहेको व्यवस्थापक ओझाले बताइन् । पछिल्लो समय सहकारीका सदस्यहरु मिलेर समुह बनाएर सामुहिक रुपमा अदुवा र बेसार खेती समेत गरेका छन् ।
यसैगरि सहकारीद्वारा सन्चालित चक्रवर्ती डेरी उद्योगले देवघाट–५ को टाउनचोकमा विहिबारदेखी डेरी पसल सन्चालन गरेको छ । उक्त डेरी पसलको सहकारीकी संस्थापक अध्यक्ष शुशिला नेपालले उद्घाटन गरिन् । यसैगरि सल्लाहाकार ठाकुरकुमारी काफ्लेले पहिलो ग्राहकलाई सामाग्री विक्री गरेर पसलको शुभारम्भ गरेकी थिइन् ।
डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताकोलागि टाउन चोकमा पसल सन्चालन गरिएको सहकारीकी व्यवस्थापक संगिता ओझाले बताइन् । सहकारीले सन्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दहि, घ्यु, पनिर, कुल्फी, आईसक्रिम र खुवा लगायत अवदेखी उक्त पसलबाट पनि विक्री गरिने व्यवस्थापक ओझाले बताइन् ।
व्यवस्थापक ओझाका अनुसार हाल उक्त डेरी उद्योग मार्फत मासिक १० लाखको दुग्धजन्य उत्पादनको कारोबार हुँदै आएको छ । सहकारीले दशैं र तिहारको अवसरमा आफ्ना दुग्धजन्य उत्पादनमा भारी मात्रामा छुट दिएको व्यवस्थापक ओझाले बताइन् । सहकारीलाई देवघाट गाउँपालिकाले दुधमा प्रोत्साहन रकम उपलब्ध गराएको छ भने उत्पादित बस्तुहरुको बजारीकरणमा हेफर इन्टरनेशनल नेपालले सहयोग गर्दै आएको छ ।
सहकारीले टाउनचोकमा डेरी पसल सन्चालन गरेपछि त्यस क्षेत्रका सर्वसाधरणहरु खुसी भएका छन् । अब घर नजिकैको पसलबाट दूध, दही, घ्यु, पनिर, लगायतका उत्पादन पाइने भएपछि सर्वसाधरणले खुसी व्यक्त गरेका छन् । (लोकवाणी दैनिकबाट)