दमौली, कार्तिक १३
बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका छन् । भट्टले तिन रोपनी जग्गामा लगाएको सयपत्री फूल अहिले विक्रीको तयारीमा रहेको छ । चाडपर्वमा फूलको माग बढ्ने भएपछि आफुले चाडपर्वलाई लक्षित गरेर फूलको खेती गरेको उनले बताए । भट्टले सात वर्षदेखी फूल खेती गर्दै आएका छन् ।
तरकारी लगाउने जग्गामा फूलखेती गरेका भट्टले उक्त फूलको बजार व्यवस्थापन राम्रो गर्न सके यस वर्ष चार लाख रुपैयाँ सम्म आम्दानी लिन सकिने बताए । उनले चितवनको नारयणगढमा लगेर फूल विक्री गर्ने योजना रहेको बताए । ‘कतिपय ग्राहक बारीमै आएर फूल लैजानुहुन्छ’ उनले भने ‘तर त्यसले सबै फुल कटाउन सकिँदैन त्यसकारण तिहारकोलागि लक्षित गरेर नारयणगढमा लगेर दिन्छु ।’
नारयणगढमा एक माला पुग्ने फूलको मुठालाई असी देखी सय रुपैयाा तथा प्रतिकेजी ४ सय रुपैयाँमा फुल विक्री हुने उनले बताए । कसैले माला नै अर्डर गरेमा माला बनाएर दिने उनले बताए । एक सय थान भन्दा बढि माला भएमा प्रति माला दुई सय तथा सो भन्दा कम भएमा मुल्य अलि बढि पर्ने उनले बताए ।
फूलखेतीबाट मनग्य आम्दानी लिन सकिने भएपनि बजार व्यवस्थापनको समस्या रहेको उनले बताए । तरकारी लगाएको बारीमा तरकारी हुँर्कदै गएपछि फूलको बेर्ना सार्ने हुँदा तरकारी र फूलको आम्दानी लिन सकिने भट्टले बताए । स्थानीय तहले उत्पादित फूलको बजार व्यवस्थापनमा सहयोग गरेमा १२ महिना नै पुग्ने गरि फूल खेती गर्न सकिने उतले बताए । बजार व्यवस्थापन नहुँदा तिहारको सिजन बाहेक अन्य सिजनको फूल बिकाउन नसकिने उनले बताए ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले मंगलबार उक्त फूलबारीको अवलोकन गरि फूलको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । गाउँपालिका भित्र हुने कार्यक्रमहरुमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्न प्रोत्साहित गर्ने गाउँपालिकाको नीति रहेको हुँदा बन्दिपुरमै उत्पादित फूललाई यँही प्रयोग गर्ने वातावरण मिलाउने अध्यक्ष थापाले बताए ।