रवि लामिछानेसहित चार जना थप १० दिन हिरासतमा

Devghat Online

शेयर गरौ

पोखरा, कार्तिक २०

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो । लामिछानेलाई कात्तिक २४ गतेसम्म अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

पहिलो पटक कात्तिक ४ गते लामिछानेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मंगलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा कास्कीको सूर्यदर्शन सहकारीबाट अवैध रुपमा रकम लगी हिनामिना भएको आरोप छ । संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न लामिछानेलाई थप २५ दिन हिरासतमा राख्ने अनुमति माग गरिएको थियो । लामिछानेको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै बयान सकिएकाले रिहा गर्न माग गरेका थिए । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

सहकारी पीडितको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए । लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहनुभएका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप भएको छ ।

सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू