दमौली, कार्तिक २१
व्यास जन्मभुमि दमौली स्थित व्यास अन्न क्षेत्रमा हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ सुरु भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समिति र विश्व हिन्दु महासंघ नेपालको संयुक्त आयोजनामा विश्व ऊँकार हिन्दु महामिलन पर्वको अवसरमा उक्त महायज्ञको आयोजना गरिएको हो । बुधबारदेखी सुरु भएको महायज्ञ कार्तिक २८ गतेसम्म चल्नेछ ।
महायज्ञ अघि बुधवार बिहान दमौली बजार क्षेत्रमा कलशसहितको शोभायात्रा गरिएको थियो । महायज्ञमा वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय समितिका अध्यक्ष एवं प्रमुख वाचकत्व कृष्णकान्त काफ्लेले कथा बाचन गर्नेछन् ।
व्यास जन्मभुमीको प्रचार प्रसारकोलागि हिन्दु महामिलन पर्व एवं ज्ञान महायज्ञ सप्ताह आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले बताए । उक्त ज्ञान महायज्ञमा दैनिक भागवत वाचन, पुजा अर्चना, रुद्राभिषेक हवन, अध्यात्मिक प्रवचन तथा हरिनाम संकिर्तन हुने प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले बताए । प्रचार प्रसारको अभावमा महर्षि बेद व्यासको जन्मभुमी ओझेलमा परेको हुँदा यस पवित्र भुमीको प्रचार प्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष अधिकारीले बताए ।
व्यास क्षेत्रमा निर्माणधीन योग भवन सम्पन्न गर्न, अन्नक्षेत्रमा आश्रित अशक्त, बाहिरबाट आउने पाहुनको सहयोगार्थ अक्षयकोष स्थापना र व्यासभूमिको गरिमा अभिबृद्वि गर्ने उद्वेश्यले महायज्ञ आयोजना गरिएको अधिकारीले बताए ।
महायज्ञमा संकलित रकमले बाट योग भवन, अन्नक्षेत्र संचालानार्थ अक्षयकोष तथा अन्य सामाजिक क्षेत्रमा खर्च गर्ने योजना रहेको व्यास अध्येता एवं सल्लाहकार काशीनाथ न्यौपानेले बताए ।