गैंडाकोट, मंसिर १
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी महोत्सवमा नेपालमा पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ बुधबारबाट सञ्चालनमा आएको छ । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको अन्डरवाटर टनेलभित्र गएर माछा हेर्ने व्यवस्था गरिएको छ ।
विदेशमा गएर हेर्न पाइने अन्डरवाटर फिस टनेलमा विभिन्न प्रकारका समुद्री माछाहरू राखिएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा ६० फिट चौडाइ तथा दुई सय फिट लम्बाइ भएको टनेलमा विभिन्न प्रकारका माछा राखेर टनेलबाट हेर्ने व्यवस्था गर्न लागिएको राजधानी एम्युजमेन्ट राइट्स नेपालका व्यवस्थापक अभय चौधरीले बताए । टनेलभित्र पानीमा राखिने माछा ६ फिटसम्मको हुने भन्दै चौधरीले ती माछाहरू चाइनाबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारको रहेको बताए ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरूको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरू, लत्ताकपडा, शृङ्गारका सामान लगायतका तीन सयभन्दा बढी स्टलहरू रहेको महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए ।
सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि यो महोत्सव आफैमा महत्त्वपूर्ण भएको उनको दाबी छ । स्थलमा धमाधम स्टल निर्माण, विभिन्न जातजातिको सांस्कृतिक घर निर्माण गरिएको छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।
एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरूलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उनको भनाइ छ ।