दमौली, मंसिर ११
तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पौष २५ गतेदेखी माघ ७ गतेसम्म नवौं तनहुँ महोत्सव हुने भएको छ । महोत्ससवको बारेमा जानकारी दिन मंगलबार तनहुँ उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी दिईयो ।



व्यास नपा–३ स्थित विपी वनबाटिकामा हुने महोत्सव २ लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सव मुल समारोह समितिका संयोजक एवं तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले बताए । महोत्सवमा २ सय वटा स्टल रहनेछ ।
तनहुँका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने, जिल्लाका कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने, तनहुँ जिल्लामा लगानीकर्ताहरुलाई आकर्षित गर्ने, व्यापार व्यवसाय सन्चालनमा सहयोग गर्ने, उत्पादक र उपभोक्ताविच सम्बन्ध विस्तार गर्ने, कृषि, पर्यटन, हस्तकला, उद्योग सम्बन्धि सिप र व्यवसायको प्रबद्र्धन गर्ने तथा स्थानीय श्रमको संरक्षण गरि स्वरोजगारमुखी बनाउने लगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका मुल संयोजक मिश्रले बताए ।
महोत्सवमा कृषि तथा औद्योगिक प्रर्दशनी, हस्तकला प्रर्दशनी, अटोमोवाईल प्रर्दशनी, खानाका विभिन्न परिकारहरुको प्रर्दशनी, मनोरन्जनकालागि रमाईलो मेला, शैक्षिक एवं विज्ञान प्रर्दशनी, जलविहार, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, जिल्लाको बृत्तचित्र प्रर्दशनी, जिल्लाका धार्मिक एवं ऐतिहाँसिक स्थलको भ्रमण, सांस्कृतिक नमुनाग्रामको भ्रमण लगायतका मुख्य आकर्षण रहेको महोत्सवका निर्देशक एवं तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए ।
संघका अध्यक्ष मिश्रको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा व्यास नपा वडा नम्बर २ का अध्यक्ष काशिराम श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष मानबहादुर गुरुङ, पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, संघका बरिष्ठ उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुवोध अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
उक्त महोत्सवको सह आयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई, संरक्षकमा जिल्ला समन्वय समिति तथा प्रबद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ र व्यास नगरपालिका रहेका छन् । महोत्सवको मुख्य सहयोगीहरुमा संघका विभिन्न बजार इकाईहरु, तनहुँका सबै स्थानीय तहहरु, नेपाल आदिवासी जनजाती महासंघ, नेपाल पत्रकार महासंघ लगायतका विभिन्न संघ संस्थाहरु रहेका छन् ।