दमौली, मंसिर १८
नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीप्रति जनताको विश्वास अझै बढेको बताएका छन् । नेकपा माओवादी केन्द्र शुक्लागन्डकी नगर कमिटिको दोश्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले हालै सम्पन्न उपनिर्वाचनले माओवादीप्रति जनताको विश्वास झनै बढेको बताए ।
उपनिर्वाचनको परिणामले माओवादी अब फेरी नयाँ ढंगले अघि बढ्ने र जनताको साथ र विश्वास लिएर अगाडि बढ्ने भन्दै उनले माओवादी अव शक्तिशाली पार्टी बन्ने दावी गरे । आफुहरुले हारेको ठाउँमा पनि विगतको भन्दा मत संख्या निकै बढेको श्रेष्ठले बताए । जनताको मनोभावनालाई समेट्न एकताबद्ध भएर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए । जनताकोबीचमा जाने योजनालाई पार्टीले प्राथमिकता दिने उनको भनाइ छ ।
माओवादी नेतृत्वको यस अघिको सरकारले भ्रष्टाचारीहरुलाई पक्राउ गर्न थालेपछि काँग्रेस र एमाले मिलेर माओवादी नेतृत्वको सरकार ढालेको पुर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले आरोप लगाए । देश र जनताको पक्षमा काम गर्दा हट्न पनि तयार भएको उनले बताए । माओावदी नेतृत्वको सरकारले नेपाली कांग्रेसका ठूलामध्यका एक नेता जो पूर्वगृहमन्त्री उनलाई कारबाही गर्दा सरकार ढल्न पनि सक्ने डरलाई त्यागेको उनले दावी गरे ।
वर्तमान सरकार ढाल्ने खेलमा माओवादी केन्द्र नलाग्ने श्रेष्ठले बताए । सरकार ढालेर आफू जाने खेलमा नलागेको भन्दै उनले देश र जनताको पक्षमा काम गर्न सकिने अवस्थामा मात्रै माओवादी सरकारमा जाने दाबी गरे । श्रेष्ठले भने, ‘जसरी हुन्छ सरकार हटाउने र जसरी हुन्छ हामी सरकारमा जानेवाला छैनौं । तर, यो सरकारले देश चलाउन सक्दैन । देशले यो सरकारलाई व्यहोर्न सक्दैन ।’
नेकपा माओवादी केन्द्र शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्यद्वय आशा कोईराला र हेमराज लामिछाने, गन्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, शुक्लागन्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक लगायतले मन्तव्य राखेका थिए ।