कीर्तिमानी खेलमा लुम्बिनीविरुद्ध विराटनगरको रोमाञ्चक जित

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १९

नेपाल प्रिमियर लिग ९एनपीएल०मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९।५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

यो एनपीएलमा कुनै पनि टिमले भेट्टाएको हालसम्मकै ठूलो योगफल हो । प्रतियोगितामा विराटनगरको यो पहिलो जित हो । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

विराटनगरलाई अन्तिम ओभरमा जितका निम्ति १६ रनको आवश्यकता थियो । लुम्बिनीबाट बलिङ गर्न आएका विवेक यादवले सुरुका दुई बल वाइड फ्याके । त्यसपछि उनले पहिलो आधिकारिक बलमा विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे ।

विराटनगरलाई जितका निम्ति अन्तिम पाँच बलमा १४ रन आवश्यक बन्यो । सन्दीपपछि ब्याटिङमा आएका क्रिस सोलले विवेकको दोस्रो बल डट खेले । तेस्रो बल छक्का प्रहार गरेपछि विराटनगरलाई अन्तिम तीन बलमा सात रन आवश्यक थियो । चौथो बलमा पनि बाउन्ड्री लगाउँदै सोलले चौका प्रहार गरे । दुई बलमा तीन रन आवश्यक हुँदा पाँचौँ बलमा पनि सोलले चौका प्रहार गरेपछि विराटनगरले रोमाञ्चक जित निकालेको हो ।

विराटनगरको जितमा उत्कृष्ट ब्याटिङ गरेका लोकेश बमले ७१ रन बनाए । उनले ४७ बलमा तीन चौका र ६ छक्का प्रहार गरे । लोकेशलाई १७।४ ओभरमा लुम्बिनीका रेमन सिमोन्ड्सले सन्दीप जोराबाट क्याच गराए । ७२–४ को स्थितिबाट लोकेशले पाँचौँ विकेटका निम्ति बसिर अहमेदसँग ७८ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रनसम्म पुर्‍याएका थिए । १६।२ ओभरमा आउट हुनुअघि बसिरले २३ बलमा चार चौका एक छक्कासहित ४० रन बनाए । बसिरलाई दुर्गेश गुप्ताले बेन कटिङबाट क्याच गराए ।

अन्तिमसम्म अविजित रहेका क्रिस सोलले चार बलमा दुई चौका र एक छक्कासहित १४ रन बनाए । उनीसँग अविजित रहेका दीपक बोहराले आठ बलमा नौ रन जोडे । स्कोरबोर्डमा दुई रन हुँदा इस्मात आलमलाई गुमाएको थियो । इस्मात शून्यमै पभेलियन फर्किए । यसपछि ब्याटिङमा आएमा मार्टिन गप्टिल र ओपनर लोकेशले दोस्रो विकेटका निम्ति ६२ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए । आठौंँ ओभरको पहिलो बलमा दुर्गेश गुप्ताबाट बोल्ड हुनुअघि गप्टिलले १७ बलमा ६ चौकासहित २८ रन बनाए ।

यसबाहेक, प्रतिश जिसीले तीन बलमा एक छक्कासहित ६ रन बनाए । उनलाई १७।६ ओभरमा दुर्गेश गुप्ताले बोल्ड गरे । राजेश पुलामीले १० बल खेल्दा चार रनमात्रै थप्न सके । उनी नवौँ ओभरको तेस्रो बलमा साद बिन जफरबाट ‘कट एन्ड बोल्ड’ भए । लगत्तै अर्को बलमा जफरले विराटनगरका किर्टोनलाई ‘गोल्डेन डक’ पभेलियन फर्किए । लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट लिए । चार ओभर बलिङ गरेका दुर्गेशले २१ रनमात्र खर्चिए । रेमन सिमोन्ड्स र साद बिन जफरको नाममा समान दुई विकेट रह्यो । विवेक यादवले एक विकेट लिए ।

पहिलो इनिङ स् लुम्बिनीको कीर्तिमानी योगफल

यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल बनाएको हो । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो हालसम्मकै सबैभन्दा ठूलो योगफल हो । लुम्बिनीले सुदूरपश्चिम रोयल्सको नाममा रहेको कीर्तिमान तोडेको हो । यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । अर्धशतकबाट चार रनले चुकेका रोहितलाई १२।५ ओभरमा राजेश पुलामीले प्रतिश जिसीबाट क्याच गराए । रोहितले २९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । ६४–२ को स्थितिबाट रोहितले टम मोरेससँग तेस्रो विकेटका निम्ति ३३ बलमा ६७ रनको आक्रामक साझेदारी गर्दै लुम्बिनीको इनिङ बढाएका थिए ।

१४औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि मोरेसले १७ बलमा एक चौका र दुई छक्कासहित ३० रन प्रहार गरे । लुम्बिनीको खातामा १२ रन थपेका सन्दीप जोरा १६।२ ओभरमा रनआउट भए । उनले १३ बल खेले पनि बाउन्ड्री प्रहार गर्न भने सकेनन् । साद बिन जफरले १३ बलमा एक छक्कासहित १५ रन बनाए । सन्दीप लामिछानेले गरेको १९औँ ओभरको दोस्रो बलमा जफर मार्टिन गप्टिलबाट क्याच भएका थिए । सोही ओभरको चौथो बलमा बेन कटिङ पनि रनआउट भए । कटिङले ६ बलमा एक चौकासहित ६ रन बनाए ।

त्यसअघि लुम्बिनीले चौथो ओभरको पहिलो बलमा ओपनर आशुतोष घिरैयालाई रनआउटको रूपमा गुमाएको हो । ननस्ट्राइकमा रहेका आशुतोष रन लिन अघि बढेको स्थितिको फाइदा उठाउँदै विराटनगरका निकोलस किर्टोनले उत्कृष्ट ‘थ्रो’ गर्दै रनआउट गरे । आशुतोषले १५ रन बनाए ।

दोस्रो विकेट लुम्बिनीले आठौँ ओभरको दोस्रो बलमा अर्का ओपनर अर्जुन साउदलाई गुमाएको थियो । साउदलाई विराटनगरका इस्मात आलमले बोल्ड गरे । उनले लुम्बिनीको खातामा १७ रन थपे । अन्तिममा अविजित रहेका विवेक यादवले १९ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका विवेकले सात बलमा तीन छक्का प्रहार गरे । रोमन सिमोन्ड्सले दुई रन बनाए ।

विराटनगरका कप्तान सन्दीप, इस्मात आलम र राजेश पुलामीले समान एक विकेट लिए । प्रतियोगितामा तेस्रो खेल खेलिरहेको विराटनगरबाट सन्दीपको यो पहिलो विकेट हो । यसबाहेक, विराटनगरले लुम्बिनीका चार ब्याटरलाई रनआउट गरेको थियो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा