दमौली, मंसिर २१
म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्र व्यवसाय सन्चालन गरेका व्यवसायीहरुलाई आफ्नो व्यवसाय दर्ता र सुचिकृत गर्न आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा गाउँपालिका अन्तर्गत वडा नम्बर ४ देखि ७ सम्मका होटल, किराना पसल, विभिन्न उद्योग, व्युटि पार्लर, स्टेशनरी, बेकरी, कृषि फर्म लगायतका व्यापार व्यवसाय सञ्चालन भई गाउँपालिकामा दर्ता तथा सूचीकृत नभएका व्यवसायीलाई दर्ता तथा सुचिकृत हुनकोलागि गाउँपालिकाले अनुरोध गरेको छ ।
व्यवसाय दर्ता तथा सुचिकरणकोलागि गाउँपालिकाले तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाई समितिको सहकार्यमा व्यवसाय दर्ता विभिन्न वडामा व्यवसाय दर्ता शिविर समेत सन्चालन गर्ने भएको छ । वडा नम्बर ५ मा मंसिर २३ गते वडा कार्यालयमा, वडा नम्बर ७ मा मंसिर २४ गते वडा कार्यालयमा, वडा नम्बर ६ मा मंसिर २५ गते वडा कार्यालय तुरतुरेमा र वडा नम्बर ४ मा मंसिर २५ गते वडा कार्यालयमा शिविर सन्चालन गरिने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
व्यवसाय सन्चालन गरेका तर दर्ता नगरेका व्यवसायीहरुले उक्त शिविरमा व्यवसाय दर्ता गर्ने र यस अघि व्यवसाय दर्ता गरिसकेकाहरुले गाउँपालिकाका सुचिकरण गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।