दमौली, मंसिर २५
बन्दीपुर भ्रमण वर्ष २०२५ सफल पार्न बन्दीपुरका सरोकारवाला निकायहरू लागि परेका छन् । बन्दीपुर भ्रमण वर्ष सफल पार्नका लागि विभिन्न प्रचारप्रसार र अन्तरक्रिया कार्यक्रम सुरु गरिएको छ ।
सोमबार बिहान काठमाडौँमा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा उपाध्यक्ष पञ्चमाया गुरुङ वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङ सहित बन्दीपुरका भ्रमण वर्ष २०२५ का प्रतिनिधि, पर्यटन ब्यवसायी, उद्योग बाणिज्य संघ, होटल संघ, रेवानका प्रतिनिधि सहितको टोलीले बन्दीपुर र छिम्केश्वरी घर भई काठमाडौँमा बसोबास गर्दै आइरहेका तनहुँ बन्दीपुर छिम्केश्वरी तमु समाजका प्रतिनिधिसँग भेटघाट गरी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा भ्रमण वर्षले बन्दीपुरमा पर्यटकीय माहौल सृजना गर्ने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताएका छन् । बन्दीपुर भ्रमण वर्षले बन्दीपुर मात्र नभई आसपासका पर्यटकीय गन्तव्यहरूको समेत पर्यटनमा टेवा पु¥याउने भएकोले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।
अन्तरक्रियामा तनहुँ बन्दीपुर छिम्केश्वरी तमु समाजका प्रतिनिधिहरूले आफ्नो तर्फबाट र संघसंस्थाका तर्फबाट यस कार्यक्रम सफल बनाउनका लागि प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउन पहल गरिने प्रतिबद्धता जनाएका छन् ।
अन्तरक्रियामा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ, वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक पर्यटन व्यवसायी बैंश गुरुङ, फुलमती थापा, घनश्याम उपाध्याय, राजु बानियाँ, जितेन्द्र लाल भूमि, विक्रम पिया, कमल पण्डित, किशोर प्रधान तनहुँ बन्दीपुर छिम्केश्वरी तमु समाजका अध्यक्ष इ. दुर्गा कुमार गुरुङ, वरिष्ठ उपाध्यक्ष भीमबहादुर गुरुङ लगायत ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
भ्रमण वर्षको विशेष समारोहको आयोजना गरी अब छिट्टै बन्दीपुर गाउँपालिकाले भ्रमण वर्ष २०२५ को विधिवत रूपमा सुरु गर्ने भएको छ । पहाडकी रानी उपनामले चिनिएको तनहुँस्थित बन्दीपुरलाई ‘भिजिट बन्दीपुर–२०२५’ घोषणा गरिएको छ । पर्यटन दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि घोषणा गरेको थियो ।
बन्दीपुरबाट मनोरम हिमशृङ्खलाहरु अवलोकन, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ, चट्टान आरोहणलगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बिचमा बन्दीपुर छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा बन्दीपुर छ । पृथ्वीराजमार्गमा रहेको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ । बन्दीपुरमा केवलकार सञ्चालन गरिएको छ । पर्यटकलाई थप सहज रुपमा यात्रा गर्न डुम्रे बजारनजिक रहेको ठुलो ढुङ्गोबाट बन्दीपुर जोड्ने केवलकार सञ्चालन गरिएको छ ।