दमौली, मंसिर २५
७६ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा तनहुँका मानवअधिकारसँग सम्बन्धित संघ संस्थाको समन्वयमा मंगलबार तनहुँ जिल्ला कारागारको अनुमगन तथा कारागारमा अभिभावकसँग आश्रीत बालबालिकालाई शैक्षिक सामाग्री तथा न्यानो कपडा सहयोग कार्यक्रम आयोजना गरियो ।
उक्त कार्यक्रममा बोल्दै तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले राज्य मानवअधिकारको संरक्षक भएको हुँदा मानवअधिकारको सम्मान र संरक्षण गर्न स्थानीय प्रशासन सचेत रहेको बताए । मानवअधिकार दिवसको अवसरमा कारागारको अनुमगन गर्नाले कारागारलाई सुधारगृहको रुपमा परिणत गर्न सहयोग पुग्ने र कैदी बन्दीको आधारभुत अधिकार प्रत्याभुतीकोलागि राज्यलाई दवाव पुग्ने बताए ।
गैसस महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा कारागार कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद अधिकारी, महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेल, सेतो गुराँस बालविकास सेवाका सदस्य कृष्णचन्द्र पाण्डे, अधिवक्ता सरिता भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा प्रदान गरिएको न्यानो कपडा मानवअधिकार तथा कैदीबन्दी न्यायीक सरोकार मन्चका अध्यक्ष कविराज श्रेष्ठले तथा स्टेशरी सामाग्री आदर्श स्टेशनरी मार्फत महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी उपाध्यक्ष बसुन्धरा घर्तीले उपलब्ध गराएका थिए ।
सो कार्यक्रम गैरसरकारी संस्था महासंघ तनहुँ शाखा, इन्सेक, सेतो गराँस, महिला मानवअधिकार रक्षक सन्जाल, मानवअधिकार एलान्यस, मानवअधिकार तथा कैदीबन्दी न्यायीक सरोकार मन्च, मानवअधिकार एलयान्स, नेपाल बार एसोसियसन मानवअधिकार समिति, काहुराष्ट र ग्रामिण सशक्तिकरण समाजको सहभागिता रहेको थियो ।
तनहुँ कारागारमा सोमबारसम्म कैदी २०१ जना तथा थुनुवा १२४ र २ जना बालिका सहित ३२७ जना रहेका छन् । जसमा २६ जना महिला रहेका छन् । कैदी बन्दीमा सबैभन्दा धेरै बलात्कार मुद्धाका ६५ कैदी र २६ थुनुवा सहित ९१ जना रहेका छन् । यसैगरि लागु औषध मुद्धामा कैदी ३२ तथा थुनुवा ४४ गरि ७६ जना र कतव्र्य ज्यान मुद्धामा ३४ कैदी र १२ थुनुवा गरि ४६ जना रहेको कारागार कार्यालयका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।