दमौली, पुस ४
तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकामा विहिबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय भए अनुसार विहिबारबाट म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाबाट परिचयपत्र वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
म्याग्देमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ गरेका हुन् । म्याग्देमा ३४६७ प्रति राष्ट्रिय परिचयपत्र आएको भन्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले ति सबै परिचयपत्र गाउँपालिकाबाट वितरण गरिने बताए । परिचयपत्र वितरण कार्यक्रम विहिबार शुभाम्भ भएपनि आगामी पुस ९ गतेबाट मात्र सेवाग्राहीलाई वितरण सुरु गरिने पन्जिकरण शाखाका प्रमुख एककुमार श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र लिन स्वयं व्यक्ति नै उपस्थित भएर बायोमेट्रिक गराएर रुजु गरेर मात्र लैजान सकिने सम्बन्धित स्थानीय तहले जनाएका छन् । आफन्त वा नातेदार लिन आएर परिचयपत्र लैजान नपाइने पालिकाहरुले जनाएका छन् । यसैगरि जिल्ला प्रशासन कार्यालयबाट वा अनलाईनबाट राष्ट्रिय परिचयपत्रको फाराम भर्ने लाभग्राहीहरुको पहिलो चरणमा प्रिन्ट भएका कार्डहरु मात्र वितरण गर्न लागिएको भिमाद नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले वडा अनुसार वितरण गर्ने मिति तोकेको हुनाले नगरपालिकाको वेबसाइटमा राखिएको सूची हेरेर आफ्नो नाम भए मात्र तोकेको मितिमा उपस्थित हुन सर्वसाधरणलाई अनुरोध गरेको छ ।
भिमाद नगरपालिका अन्तर्गत विभिन्न शिबिरमा खिचाएको राष्ट्रिय परिचयपत्र नगरपालिकामा प्राप्त नभएको भन्दै नगरपालिकाले वडा वा पालिकामा अफलाईन फाराम भर्ने लाभग्राहीहरुको कार्ड आउन थप केही समय लाग्ने हुँदा सूचीमा नाम नभएका लाभाग्राहीहरुको कार्ड नगरपालिकामा नआएको जनाएको हो । ८५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले छुट्टै व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
तनहुँमा व्यास नपा र भानु नगरपालिकामा बाहेक अन्य स्थानीय तहमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भईसकेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनी यस अघि सुचना प्रकाशन गरेको थियो । यसकोलागि कार्यालयमा प्राप्त भएको परिचय पत्र पालिकाहरुमा पठाई वितरण कार्यको तयारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए ।