दमौली, पुस ५
सरकारी छाप किर्ते र सवारी ज्यान मुद्धामा फरार रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाँउपालिका वडा नम्बर ४ बस्ने राजन कुमार श्रेष्ठ रहेका छन् ।
तनहुँ जिल्ला अदालतको फैसलाले सरकारी छाप किर्ते र सवारी ज्यान मुद्धामा दोषी ठहर भई सजाय तोकिएका श्रेष्ठले सजाय भुक्तानी नगरि फरार रहेका थिए । उनलाई खोज तलास गर्ने क्रममा शुक्रबार आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अशोक थापाले बताए ।
जिल्ला अदालतको गत २०७७ फागुन २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना २३ दिन कैद र चार लाख पैतिस हजार दुई सय रुपैया जरिवाना र सरकारी कागज छाप किर्ते मुद्दामा ११ महिना २३ दिन कैद बिस हजार चार सय रूपैया जरिवाना तोकिएकोमा श्रेष्ठ उक्त दुबै सजाय भुक्तान नगरि हालसम्म फरार रहेको हुँदा उनलाई पक्राउ गरि सजाय र जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।