दमौली, पुस ९
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार गाउँपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न म्याग्दे गाउँपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने कार्यक्रम समावेश रहेको बताए ।
मानव जिवनको रक्षाकोलागि जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्नुपर्ने भन्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले यसका असरलाई न्युनिकरणकालागि जलवायुमैत्री कानुन र संरचना बनाउनु पर्ने बताए । जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नकोलागि गाउँपालिकाले १० वर्षे गुरुयोजना बनाईएको भन्दै अध्यक्ष श्रेष्ठले जैविक मल उत्पादनलाई जोड दिने, बृक्षारोपण गर्ने, वन डढेलो अन्त्य गर्ने, पानीका मुहानहरुको संरक्षण गर्ने विषादी प्रयोगको अवस्था अन्त्य गर्ने लगायतका कामलाई गाउँपालिकाले प्राथमिकता दिएको बताए ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जलवायु परिवर्तनको असरले सबैलाई प्रभाव पारेको हुँदा त्यसको असर न्युनिकरणकोलागि स्थानीय सरकारको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यो अभियानमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले प्राकृतिक श्रोतको अबैध उत्खनन रोक्नकोलागि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताए । जलवायुमैत्री कानुन र संरचना निर्माण गर्ने गाउँपालिककाको प्राथमिकता रहेको अधिकारीले बताए ।
गैरसरकारी संस्था महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।
उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् । उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो । सो कार्यक्रमको सन्चालन गैसस महासंघ तनहुँका सदस्य पुर्ण विकेले गरेका थिए ।