दमौली, पुस २४
नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा बुधबारबाट ‘प्रथम मध्यनेपाल महोत्सव’ सुरु भएको छ । ‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डले उद्घाटन गरे । महोत्सव लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल बजार इकाईको आयोजना तथा स्थानीय विभिन्न संघ संस्थाहरुको सहयोगमा आयोजना गरिएको हो । महोत्वसको संरक्षकमा मध्यनेपाल नगरपालिका रहेको छ ।
महोत्सवको उद्घाटन गर्दै मेयर पाण्डेले स्थानीय उत्पादन तथा स्थानीय कला र संस्कृतिको संरक्षणकोलागि महोत्सव फलदायी हुनेमा विश्वस्त रहेको बताए । मेयर पाण्डेले महोत्वसले स्थानीय पर्यटन प्रबद्र्धन तथा कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताए ।
महोत्सवका संयोजक संयोजक तथा लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल बजार इकाईका अध्यक्ष रमेशचन्द्र भट्टरार्ईको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा मध्यनेपाल नगरपालिकाकी उपमेयर सिता गुरुङ, नेपाल उद्योग वाणिज्य संघका पुर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तव्य बजार इकाईका उपसभापती सिद्धबहादुर नेपालीले गरेका थिए भने कार्यक्रमको सन्चालन महोत्सवका प्रवक्ता ओमविर गुरुङले बताए ।
१० दिन सम्म चल्ने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सवका संयोजक भट्टरार्ईले बताए ।
महोत्सव अवधिमा एक करोडको कारोबार हुने, महोत्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भट्टराईले भने, ‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव आयोजना गरिएको हो ।’ संयोजक भट्टराईले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने बताए ।
महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु–घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रतियोगिता सञ्चालन गरिने छ । साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुति पनि रहनेछ ।
कुल १ सय २० वटा स्टल रहने महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको महोत्सवका प्रवक्ता तथा वडा नम्बर–४ का अध्यक्ष ओमबीर गुरुङले बताए । गुरुङका अनुसार तीमध्ये कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ । लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको पहिलो महोत्सवले धेरै सम्भावना बोकेको छ । महोत्वसको पहिलो दिन ख्यातीप्राप्त लोकदोहोरी गायक घनश्याम रिजाल र गायिका ज्योती लोहोनीले दर्शकलाई मनोरन्जन दिएका थिए ।