दमौली, पुस २७
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम.९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ शनिबार प्रदान गरियो ।
रेडियोको नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनको अवसरमा शुनपा–९ स्थित सुरौदी दोभानमा आयोजित कार्यक्रममा नेपाल एफएम नेटवर्क प्रालि काठमाडौंका प्रबन्ध निर्देशक गोविन्द खडका्ले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
उक्त सम्मान तथा पुरस्कृत हुनेमा साहित्यतर्फ भिम रानाभाट (ज्यालादारी), पत्रकारितातर्फ पत्रकार प्रकाशचन्द्र भट्टराई र समाजसेवातर्फ देउ बहादुर गुरुङ रहेका छन् । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको थियो ।
तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक र खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको रेडियो संस्थापक अध्यक्ष एवं सम्मानित व्यक्तित्व छनौट समितिका संयोजक नारयणकुमार श्रेष्ठले बताए ।
पत्रकारितातर्फ सम्मानित हुन लागेका पत्रकार भट्टराई दमौलीमा रहेर क्रियाशिल छन् । व्यास–१४ केशवटारमा जन्मिएका खनाल व्यास–२ मा रहेर पत्रकारिता गर्दै आएका छन् । वि.स.२०५७ सालमा हाम्रो संकल्प साप्ताहिकबाट पत्रकारिता शुभारम्भ गरेका भट्टराई हाल लोकवाणी दैनिकका सम्पादक हुन् । भट्टराई नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पुर्व अध्यक्ष हुन् । उनी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तनहुँ, प्रेस चौतारी तनहुँ लगायतका संस्थाबाट प्रदान गरिएको पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।
साहित्यतर्फ छनौट भएका रानाभाट विद्यालय अध्ययनसँगै साहित्यतर्फ रुचि राख्ने गरेका थिए । रानाभाटको पहिलो कविता २०४४ सालमा ‘नयाँ वर्ष’ शिर्षकको धरा साहित्य मासिकमा छापिएको थियो । म्याग्दे–२ मा जन्मिएका उनका आधि दर्जन कृति प्रकाशित छन् । विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित रानाभाटले आधि दर्जन बढि साहित्यसँग सम्बन्धित पुस्तकहरुको सम्पादन, सहसम्पादन र व्यवस्थापन गरेको अनुभव छ ।
समाजसेवातर्फ छनौट भएका ८४ वर्षिय गुरुङ यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । तत्कालिन फिरफिरे गाविस वडा नं. ६ का अध्यक्षमा निर्वाचित उनी त्यसअघिको निर्वाचनमा वडा सदस्य भएका थिए । शुक्लागण्डकी–१२ मा बस्दै आएका उनी मोटरमार्ग, सामुदायिक विद्युत, गुरुङ समाज लगायतका सामाजिक संस्थामा रहेर समाजसेवामा क्रियाशिल छन् ।
पुरस्कृत एवं सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमलमोहन घिमिरे रहेका थिए ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिदै आएको सचिव शिव पौडेलले जानकारी दिए । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ऋतुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी नेपाल एफएम नेटवर्कका प्रबन्ध निर्देशक गोविन्द खड्काले स्थानीय स्तरका सन्चार माध्यमहरु अहिले संकटमा परेको हुँदा ति सन्चार माध्यमहरुलाई बचाउने जिम्मेबारी स्थानीय समुदायको रहेको बताए ।
उक्त कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारयणकुमार श्रेष्ठ, कोषाध्यक्ष टिकाराम श्रेष्ठ, रेडियोका शेयरधनीहरु एकराज सिग्देल र रघुनाथ पौडेल, सम्मानित व्यक्तिहरु प्रकाशचन्द्र भट्टराई, भिम रानाभाट र देउबहादुर गुरुङ, रेडियोका सल्लाहाकारहरु कमलमोहन घिमिरे र राजन रिमाल लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सन्चालन सचिव शिव पौडेलले र स्वागत उपाध्यक्ष सरस्वती सिग्देलले गरेकी थिइन् ।