दमौली, माघ १
तनहुँमा बसोबास गर्ने मगर समुदायले माघे सङ्क्रान्ति पर्व मङ्गलबार नवौ तनहुँ महोत्सव स्थल भित्र उल्लासपूर्वक मनाएका छन् । महोत्सवको आयोजक तनहुँ उद्योग वाणज्य सङ्घ सङ्क्रान्ति मनाउनको लागि स्थल उपलब्ध गराएको थियो । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
सास्कृतिक पोषाकमा सजिएका मगर समुदायले महोत्सव स्थलमा प्रवेश गर्नु अघि सदरमुकाम दमौलीमा मगर समुदायको लोकप्रिय कौरा, झ्याउरे लगातको गीत तथा नृत्य प्रस्तुत दमौली बजार परिक्रममा गरेका थिए । कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । सो अवसरमा नगर प्रमुख न्यौपाने व्यास नगरपालिका–१४ को रुम्सी गाउँलाई मगर समुदायको अध्ययन स्थलको रुपमा विकास गरिरहेको बताए । त्यहाँ सञ्चालनमा रहेको होम स्टे लगायतको प्रवद्धनको लागि एक करोड रुपियाँ रकम निकासा गरिएको न्यौपानेले बताए ।
साथै व्यास नगरपालिका–१२ नेपालका प्रथम सहिद लखन थापाको प्रतिमा स्थल तथा मगर सङ्ग्राहालय बनाउन अध्यन भईरहेको बताए । मगर भाषाको संरक्षणको लागि भाषा पाठशालाको लागि दुई लाख रुपियाँ बजेटको व्यवस्था गरिएको बताए। साथै नगर प्रमुख न्यौपानेले फागुन ७ गते व्यास नगर प्रज्ञा प्रतिष्ठानको अयोजनामा दमौलीमा सास्कृतिक महोत्सव गरिने जानकारी दिए ।
कार्यक्रममा पूर्वमन्त्री शिवलाल थापा, व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिकाको पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठ, नेपाल महिला मगर सङ्घको केन्द्रीय सदस्य काशी राना लगायतका यस्ता सास्कृति कार्यक्रमले भावी पुस्तालाई ज्ञान लिन सहज हुने हुँदा निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको नेपाल मगर संघ व्यास नगर समितिको अध्यक्ष रिमा आलेले जानकरी दिए ।
महोत्सवमा नेपाल मगर सङ्घ व्यास नगर समितिले मगर माघे सकराटी मेला, विविध सास्कृति कार्यक्रम गरिएको थियो । महोत्सवको स्थान उपलब्ध गराएकोमा तनहुँ उद्योग वाणिज्य सङ्घलाई सम्मानपत्र प्रदान गरिएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले र तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रलाई सम्मानपत्र प्रदान गरेका थिए ।
माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ । प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गरेको बताइन्छ ।
तनहुँ महोत्सवमा सबैभन्दा धेरै मङ्गलबार दर्शकको भीड लागेको छ । माघे सङ्क्रान्ति पर्व र सार्वजानिक बिदा भएकोले एकै दिन १२ हजार देखि १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिए।
छैटौं दिन मङ्गलबार सम्ममा करीव ५५ हजार दर्शकले अवलोकन गरेको र दुई करोडको आर्थिक कारोबार भएको प्रवक्ता अधिकारीले जानकारी दिए । मङ्गलबार चर्चित गायक सन्जिवसिंह रानाले मुग्लिनको ‘बाटोमा धुलो उडाउँदै…’ बोलको गीत गाउँदा नाच्ने दर्शकको भीड लाग्दा महोत्सवमा धुलो उडेको थियो । गायक रानाले वान टु म पनि जान्छु, ए मेरो मामा बोलको गीत गाएर दर्शक नचाए । गायक रानाले धन मागे त छैन मन मागेमा दिउँला बोलको गीतको भावुक गीत गाएका थिए । गायक रानाले यो गीत मञ्चबाट तल ओर्लिएर दर्शकसँग गाएका थिए । महोत्सवमा साँझ कुमार सागर व्याण्डको प्रस्तुति रहेको थियो ।
सातौ दिन गायक पशुपति शर्मा सहितको चर्चित कलाकार आउने
यस्तै सातौ दिन चर्चित कलाकारहरुको प्रस्तुति हुने भएको छ । चर्चित गायक पशुपति शर्मा, कमेडिएन म्याकुरी, गायिका प्रीति आले, भीम विष्ट, कमेडियन सुन्दरमणी खनाल, गायिका शान्तिश्री परियार, गायक वसन्त विक र समृद्धि परियारको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए ।