दमौली, माघ २
नेपालको मध्यभागमा रहेको लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–४ स्थित दुईपिप्लेमा आयोजित ‘प्रथम मध्यनेपाल महोत्सव’ मा दर्शकको संख्या उल्लेख्य रहेको छ । मंगलबार माघे संक्रान्तिको दिन उक्त महोत्सवमा निकै भिड रहेको थियो भने बुधबार पनि उल्लेख्य मात्रामा दर्शक आएको आयोजकले जनाएको छ ।
महोत्सवमा बुधबार नविना सिलवाल खुईली, घनश्याम रिजाल र सन्जिवसिंह राना लगायत कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । दर्शकको उल्लेख्य उपस्थितीले महोत्सवको रौनक बढेको महोत्सवका प्रवक्ता ओमविर गुरुङले बताए ।
‘स्थानीय उत्पादन, पर्यटन तथा पूर्वाधार, मौलिक कला संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मूल नाराका लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतिपसल बजार इकाईको आयोजनामा भएको महोत्सवका मुल आयोजक समितिका संयोजक एवं बजार इकाईका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताए ।
माघ ३ गते सम्म चल्ने सो महोत्सवमा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने, मुलुककै मध्य भागमा रहेको यहाँ स्थित सो स्थलको बारेमा देशविदेशमा चिनारी एवम् प्रचार प्रसार गर्ने, स्थानीयस्तरमा रहेको बोटे र कुमाल जातिको होमस्टे लागयत पालिकाको डडुवा तथा मगर होमस्टेको समेत प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको महोत्सवका संयोजक भट्टरार्ईले बताए ।
उनका अनुसार महोत्सव अवधिमा एक करोडको कारोबार हुने, महात्सव सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
भट्टराईले भने, ‘स्थानीय उद्योग, व्यापार, व्यवसायको प्रवद्र्धन गरी स्थानीयबासीको जीवनस्तर उकास्न मुख्य भूमिका खेल्न यस महोत्सव आयोजना गर्न लागिएको हो । संयोजक भट्टराईले यस क्षेत्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र, स्थानीय अर्गानीक उत्पादन, परम्परागत कला, संस्कार संस्कृति, व्यवसायीक होमस्टेको विस्तार र विकासका कार्यक्रमलाई महोत्सबमा प्राथमिकता दिने बताए ।
महोत्सवमा स्थानीय उत्पादनका खानाका परिकारहरूको खाना महोत्सव, यही क्षेत्रमा रहेका भानु–घाँसी सम्वाद पार्क, मध्यनेपाल स्तम्भ निर्माण स्थल, पालिका भित्र रहेका नागभैरव, गौरीशंकर मन्दिर, मौलाकालिका, इशानेश्व मन्दिर अवलोकन, स्थानीय हस्तकला प्रशर्दनी, पशु तथा कृषि हाटको प्रवन्ध, संस्कृति संरक्षणमन लागि विभिन्न जातजातिका नाच, लमजुङको चिनारीका रुपमा रहेको ठाडोभाका, कौरा घाँटु लगायतका गीत तथा नृत्य प्रदर्शन, विद्यालयस्तरीय नृत्यका साथमा आमा समूहको नाच प्रचियोगिता सञ्चालन गरिने छ । साथमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको महोत्सवमा प्रस्तुतिका लागि तयारी गरिएको छ ।
कुल १ सय २० वटा स्टल रहेको महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको महोत्सवका प्रवक्ता तथा वडा नम्बर–५ का अध्यक्ष ओमबीर गुरुङले बताए । गुरुङका अनुसार तीमध्ये कृषि र पशुपालनका उत्पादनका लागि २० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ । लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रुपमा समेत परिचित रहेको रम्घा दुईपिप्लेमा सञ्चालन गर्न लागिएको पहिलो महोत्सवले धेरै सम्भावना बोकेको छ ।
महोत्सवमा विहिबार लोकप्रिय गायक श्याम राना, गायिका सुभद्रा श्रेष्ठ र गायक घनश्याम रिजालको प्रस्तुती रहनेछ ।