बन्दिपुर, माघ २
माघे सक्रान्तिको अवसरमा बन्दीपुर गाउँपालिका–२ कुकुर्दीमा आयोजना गरिएको गोरु जुधाई प्रतियोगिताको लागि बन्दिपुर गाउँपालिकाले ६० हजार रुपैयाँ प्रदान गरेको छ । सो प्रतियोगिताकोलागि बन्दिपुर भ्रमण वर्षको तर्फबाट थप १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको थियो । प्रथम पुरस्कार स्वरूप गुरुङलाई १५ हजार प्रदान गरिएको छ । त्यसैगरी स्थानीय कृषक सन्तोष गुरुङको गोरु उपविजेता बनेको थियो । उपविजेताले सात हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नौ वटा गोरुले भाग लिएको आयोजक नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । सो अवसरमा बोल्दै मन्त्री बस्यालले खेलको माध्यमबाट यस क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि थप सहयोग पुग्नेमा बताउँदै बन्दीपुरको पर्यटन प्रवद्धनार्थ विभिन्न खेलसम्बन्धी प्रतियोगिताको आयोजना गर्न जोड दिए । बन्दीपुर गाउँपालिकाको आयोजनामा बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पु¥याउन अंग्रेजी वर्ष २०२५ लाई बन्दीपुर भ्रमण वर्षको रुपमा घोषणा गरेको थियो ।
पहाडकी रानी उपनामले चिनिएको बन्दीपुर बजारमा मात्रै पर्यटक केन्द्रीत भएकाले त्यसको लाभ गाउँसम्म पु¥याउने प्रमुख उद्देश्यले भ्रमण वर्ष घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैस गुरुङले बन्दीपुरमा बन्दीपुर बजार मात्रै नभई दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, रामकोट, धरमपानीलगायतका होमस्टे, रानीवन मणिमुकुन्दसेन दरबार स्थल, थानीमाई लगायतका थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार प्रसार हुन नसकेकाले भ्रमण वर्ष मनाइएको जानकारी दिए ।