चितवन, माघ ७
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक जना युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्र का अनुसार युवकमाथि निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन् ।
सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेलले पुस १५ गते राती बाइपास रोडमा युवकमाथि निर्घात कुटपिट गरेको खुलेको छ ।
डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो। यस्तै रातको समयमा चेकिङमा बसेका असई भुजेलले ‘माथिको पावर देखाएको’ भन्दै लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेको भिडियोमा देख्न सकिन्छ ।