देवघाटधामको महा–महोत्सवका सम्बन्धमा

Devghat Online

शेयर गरौ


      प्रा.डा.गुरुप्रसाद सुवेदी

यस वर्षको माघ महिनामा देवघाटधाममा मेला चलिरहेको छ । सन्दर्भ हो–मातापिता सेवा आश्रम निर्माण तथा देवघाट दिव्यधामको निर्माणार्थ सहयोग संकलनका लागि ईश्वरकृष्णजीद्वारा आयोजित देवघाट महा–महोत्सव । यो महोत्सवको प्रचारप्रसार र तयारी निकै तामझामका साथ गरिएको भएपनि साच्चिकै ठिकसँग यज्ञ हुने वा नहुने भन्ने चर्चा पनि सुनिँदै थियो ।

तनहुँ तर्फका देवघाटवासीहरूले समग्र देवघाटको सहभागिता र सामूहिक उद्देश्यको सुनिश्चितताविना कुनै यौटा संस्थाको आयोजनालाई देवघाट महोत्सव भन्न नपाइने कुरा उठाए । त्यसको सम्बोधन कसरी भयो, हामीलाई थाहा भएन । शिलान्यासको दिन प्रायः सबै सन्तहरूसँगै हाम्रो पनि सहभागिता थियो । महा–महोत्सवको समुद्घाटन सन्तसमाजका अध्यक्ष स्वामी ज्ञानानन्दजीबाटै भएकोले महोत्सवमा सन्तसमाजको साथ समर्थन सार्वजनिक भएको थियो, तर त्यसको भोलिपल्टै चितवनवासी केही उत्साही साथीहरूले विश्व हिन्दु महासंघको नामबाट महोत्सवको विरोधमा पत्रकार सम्मेलन गरे । यस्तो गतिविधिबाट कतिपय श्रद्धालुहरू अन्यौलमा परेको देखियो । यस सम्बन्धमा धेरैले जिज्ञासा राखेको र हाम्रो उपस्थिति नदेखेर महोत्सवसम्बन्धी हाम्रो प्रतिक्रिया जान्न चाहेकोले हाम्रो प्रतिक्रिया यसै आलेखमार्फत प्रकट गरेको छु । यो मेरो निजी विचार र प्रतिक्रिया मात्र हो ।

महोत्सवका राम्रा पक्षहरू–

१. यो महा–महोत्सव हो । शीर्षकमा महायज्ञ भनिएको पनि छैन । यहाँ महायज्ञको परिभाषा खोज्नु जरुरि छैन । महोत्सवको उद्देश्य ठिक छ । समयानुसार मातापिताको सेवा नहुने र अपमानित भएर वा विदेशिएका छोराछोरीलाई सम्झिँदै घरमा एक्लो जीवन बिताउन बाध्य व्यक्तिहरूलाई देवघाटमा आश्रय दिनु राम्रो कुरा हो । उल्लिखित उद्देश्यअनुसार काम पूरा होस्, दानको सदुपयोग होस् र दाताहरूको श्रद्धामा ठेस् नलागोस् भन्ने हाम्रो चाहना हो ।

२. महोत्सव भनेपनि बिचबिचमा श्रीमद्भागवतको कथा भएकै छ । आरती भएकै छ । भजन कीर्तन भएकै छ । अहिले चलिरहेको देवी प्रतिभाको कला र गला ज्यदौ राम्रो छ । मनोमोहक छ । विदेशमा समेत नाम र दाम कमाएकी चेलीले आफ्नै देशमा सम्मान पाउनु खुशीको कुरा हो । महोत्सवमा मनोरञ्जन पनि, धन पनि, धर्म पनि । के नराम्रो भयो र ! जनभावना अनुरूप कार्यक्रमको आयोजना गर्नु राम्रै हो । यसबाट महोत्सवको रमाइलो हेर्न आएकाहरूले पनि भगवत्कथा सुन्न पाए । यो महोत्सवको सुन्दर पक्ष हो ।

३. महोत्सवको नाममा देवघाटधामको प्रचार भयो । देशविदेशबाट हजारौँ होइन, दशौँ हजार होइन लाखौँ मानिस देवघाटमा आए । गण्डकी दर्शन गरे, स्नान गरे, दान गरे, अवश्य पनि पुण्य कमाए । भिक्षुकले भिक्षा पाए । स्थानीयहरूको रोजगारी बन्यो । अरू लाखौँ मानिसले देवघाटको नाम सुने, आउन नपाएकाले आउने इच्छा राखे । मौका मिल्दा आउलान् । दान गर्लान् । योग्यता र क्षमता भए आध्यात्मिक लाभ लेलान् । यस्तो कुराको विरोध गर्नु आफ्नै मानसिक संकीर्णता प्रकट गर्नुमात्र हो ।

सुझाबहरू

१. भगवतकथा भएपछि र दानको कुरा आएपछि श्रद्धालुहरूको मनमा यो यज्ञ हो भन्ने भान हुन्छ । यज्ञमा शास्त्रीय विधिको ख्याल गर्नुपर्छ । भगवतकथामा मण्डप बनाउने तरिका, चौका, महाध्वज, अन्य ध्वजा–पताका, कलश स्थापना, भगवानको स्थापना, पूजाविधि र वक्ताको आसन समेत विधिपूर्वक र पवित्र हुनुपर्छ । अन्यथा नास्ति यज्ञसमो रिपुः भन्ने शास्त्रीय वचनको धारा आकर्षित हुन्छ । वास्तवमा यी सबै क्षेत्रमा नेपालीहरूले चाहिँ छुट्टै मण्डप बनाएर नेपाली परम्परालाई नै पालन गर्नुपर्छ । भारतमा प्रचलित परम्पराको अनुसरण गरेर अग्लो मञ्चभन्दा होचो ठाउँमा वक्ताको आसनभन्दा तल भगवानको स्थापना गर्नु राम्रो होइन । सकेसम्म हाम्रा कामहरू विधि विपरीत नहोऊन् भन्ने कुरामा ख्याल राख्नुपर्छ ।

२. कथावाचन गर्ने ठाउँलाई व्यासासन भनिन्छ । त्यो निकै पवित्र र मर्यादित हुनुपर्छ । त्यहाँ आवागमन गर्ने मानिस, त्यहाँबाट प्रसारण हुने सङ्गीत र अन्य ध्वनितरङ्गको पनि महत्व हुन्छ । बिहान सुप्रभातम्, प्रातःस्मरण वा स्तोत्रहरू सुन्न पाए श्रद्धालु श्रोतालाई राम्रो लाग्छ । बिहानैदेखि लोकगीत वा झ्याउरे लय र उत्तेजक वा उन्मादवद्र्धक सङ्गीत मात्र प्रसारण हुनु सान्दर्भिक होइन । भगवानको पूजा विधिपूर्वक हुनुपर्छ र श्रीमद्भागवतको पारायण पूरा हुनुपर्छ । भागवतकथाको लागि समय पहिल्यै छुट्याउनुपर्छ । कथाको समयमा कथामात्रै हुनुपर्छ । भागवतकथाको बीचमै अचानक कथालाई रोकेर रूपैयाको लेनदेनको कुरा गर्ने, दाता भनेर व्यक्तिको नाम लिने, व्यक्तिलाई सम्मान गर्नेजस्ता कामहरू बेठिक छन् । श्रद्धालुहरूबाट दान लिने वा तालि बजाइमाग्ने मात्र होइन, उनीहरूलाई सत्कर्तव्यको सद्धर्मको भगवद्भक्तिको शिक्षा दिनु पनि हाम्रो कर्तव्य हो भन्ने बिर्सिनुहुन्न ।

३. यस्ता यज्ञमा श्रद्धालुहरूले दान दिएका पनि छन् तर यज्ञहरू द्रव्यमुखी हुँदैगए भन्ने गुनासो पनि सुनिन थालेको छ । कुनै पनि सामाजिक काम गर्न अर्थ (धन) चाहिन्छ, महायज्ञ वा महोत्सवमा पनि चाहिएको वस्तु नै मागिएको हो, तर अर्थ अनर्थको कारण हुन्छ भन्ने पनि बिर्सिनुहुँदैन । त्यसैले यज्ञमा यति करोड उति अरव लगानी हुने भन्दा बाहिर दम्भ देखाएकोजस्तो लाग्छ र समाजका छुद्र दृष्टि भएका व्यक्तिहरूको गिद्धे नजरले सताउने सम्भावना हुन्छ । त्यसैले पनि द्रव्यप्रधान यज्ञ देखिनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।

४. चर्को आवाज आउने माइक भए ठुलो यज्ञ भएको भन्ने भ्रम हामीमा अझै बाकि छ । मानिसको श्रवणशक्तिले थाम्नै नसकिने किसिमको चार तिरबाट ठोक्किएर आएको चर्को अवाजले देवघाटको वातावरण अशान्त बनिरहेको छ । यसरी तीर्थस्थलको शान्त वातावरणलाई अशान्त बनाउनु राम्रो होइन । विशेष गरी कार्यक्रमस्थल नजिकै रहेको विद्यालय, कन्या गुरुकुल र घरमै बसेर अन्लाइन कक्षा लिने विद्यार्थीलाई थामिनसक्नु चर्को आबाजले तनाव सिर्जना गरेको छ । चर्को आबाजकै कारण बिरामी भएर हस्पिटल जानुपरेको र ब्लडप्रेसर मुटुको समस्या भएको घटना पनि यहीँ घटेको छ । यतातिर पनि आयोजकले दृष्टि दिनुपर्ने र अनुशासित ध्वनि हुनुपर्ने देखिन्छ ।

५. तीर्थमा आउने श्रद्धालुहरूले यहाँका तीर्थवासीहरूलाई साक्षात् सन्त महात्माको रूपमा देख्छन् र भगवत्स्वरूप मानेर श्रद्धाका साथ दान गर्छन् । यहाँका आश्रम सञ्चालकहरूले वा महोत्सवका आयोजकहरूले पनि आमन्त्रित यात्रीहरूलाई भगवदंश सम्झिनुपर्छ र श्रद्धाका नजरले हेर्नुपर्छ । धेरै आगन्तुक श्रोताहरूले पानी पनि पिउन नपाएको वा खाने बस्ने सुत्ने र मलविसर्जन गर्ने व्यवस्था नभएको गुनासो गरेको पाइयो । खानको पनि पैसा, पार्किङको पनि पैसा आए गएको पनि पैसा देवघाट त पैसामुखी भएछ भन्ने गुनासो राम्रो लागेन । दान लिइसकेपछि ती दाताहरूको अन्तरात्मालाई तृप्त बनाएर पठाउनुपर्छ । उनीहरूको हृदयको श्रद्धालाई बचाइराख्नुपर्छ । तीर्थमा आउने मानिसले यहीँ पाप पखाल्छन् भनेजस्तै ती यात्रीहरूले फोहोरको उत्सर्जन विसर्जन पनि यहीँ गर्छन् । त्यसैले देवघाटधाममा आएका वा यहाँ बोलाइएका मानिसलाई अनुशासित बनाउने र उनीहरूले छाडेको फोहोरको व्यवस्थापन गर्ने काम पनि आयोजकले नै गर्नुपर्छ । अस्तु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता