दमौली, माघ १३
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान बहुआयामिक अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल केन्द्रीय कार्यालय तनहुँको आयोजनामा क्रान्तिकारी किसान नेता एकदेव आलेको ५६ औं स्मृति दिवसको अवसरमा शनिबार काठमाडौैं स्थित प्रज्ञा भवनमा प्रवचन गोठीको आयोजना गरियो । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड एकदेव आले’ विषयक उक्त प्रवचन गोष्ठीमा देशका अधिकांश कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताए । अध्यक्ष नेपालले अझै कम्युनिस्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताएका थिए । उनले अहिले कम्युनिस्ट पार्टीप्रति मात्रै नभई सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको विश्लेषण सुनाए। उनले कम्युनिस्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र कम्युनिस्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्न सक्ने अवस्था रहेको जिकिर गरे ।
देश सङ्कटमा परेको बेलामा कम्युनिस्ट पार्टीको आवश्यक हुने अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले राजनीतिक दल र सरकारले जनताका समस्या समाधान गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको राजनीतिमा थुप्रै विसङ्गतिहरू छन् । ती विसङ्गतिहरूसँग जुध्ने काम ग¥यौँ भने बल्ल उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्दछ । अवश्य पनि नेपालमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको राम्रो सम्भावना छ । कम्युनिस्ट पार्टीको जनतामा राम्रो प्रभाव छ । तर त्यो प्रभाव कता कता कम्युनिस्ट पार्टीप्रति मात्रै होइन, सिङ्गो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था पनि बनेको छ । कम्युनिस्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र यो कम्युनिस्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए हामी अचम्मको परिवर्तन गर्न सक्थ्यौँ । जनताले चाहे बमोजिमको परिवर्तन । देश र जनताको समस्यालाई जसले सम्बोधन गर्दछ, जनताले उसैलाई सम्मान गर्छन् । देश सङ्कटमा छ भने कम्युनिस्ट पार्टी चाहिन्छ ।’
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताए । खनालले सबैलाई महसुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत् वामपन्थी एकताको भएको र महसुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताए एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिस्टहरूले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने खनालले बताए । उनले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताए ।
उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भए पनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताए । उनले भने, ‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकताबद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार त छ, कमन ग्राउन्ड त छ । कमन ग्राउन्ड रूप दिएर एउटा वृहत् वामपन्थी मोर्चा बनाउन जरुरी छ । अब कतिपय साथीहरू समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन । किनभने सबैले समाजवादी कार्यक्रम नै लिएका छैनन् ।’
समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने ? नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जे जे गरे पनि हुन्छ । होइन, साँच्चै समाजवादी मोर्चा बनाउने हो भने त समाजवादी कार्यक्रम, नीति लिएकाहरूको बिचमा नै मोर्चा बनाउने होला नि । कति वटा समूह छन् त्यस्ता ? त्यसैले हामीले यति बेला गर्ने भनेको व्यापक वामपन्थी मोर्चा नै हो । वामपन्थी मोर्चा आवश्यक छ अहिले । अहिले यति बेला त दुई वटा पार्टीको अधिनायकत्व चलिरहेको छ ।’ पूर्वप्रधानमन्त्री खनालले नेपाली कांग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताए । नले कम्युनिस्टहरूको मुख्य प्रतिद्वन्द्वी नेपाली काँग्रेस नै रहेको बताए । नेपालको कम्युनिस्ट आन्दोलन क्रमिक रूपले विभाजित भइरहेको गुनासो गरे ।
त्यसैगरि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र अन्तर्विरोध हुँदैमा नयाँ पार्टी गठन गर्ने कुरा राम्रो नभएको बताए । ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीमा अन्तर्विरोध हुँदैमा पार्टी फुटाउनै पर्ने सङ्कीर्ण सोचबाट मुक्त हुनुपर्ने बताएका थिए । उनले सबै कम्युनिस्ट पार्टीहरूले समाजवादलाई एजेन्डा बनाएर अघि बढेको भए पनि एक ठाउँमा उभिन नसकेको बताए । मतभेद हुँदैमा पार्टी फुटाउने कुराको गहन विश्लेषण जरुरी रहेको उनको भनाई थियो ।
उपाध्यक्ष ज्ञवालीले अन्तर्विरोध हुने बित्तिकै पार्टी फुट्नै पर्ने, फुटाउनै पर्ने र सँगै बस्नै नसक्ने सङ्कीर्णता तोडेर मिल्ने जति मिल्नुपर्ने बताए । उनले भने, ‘सबै कम्युनिस्ट पार्टीहरूले आफ्नो लक्ष्य समाजवाद भन्नुभएको छ । सबैका डकुमेन्ट राखेर पढ्ने हो भने समानता धेरै पाइन्छ । तर जतिसुकै समानता भए पनि एक ठाउँ किन बस्न सक्दैनौँ । नेपालमा कम्युनिस्टहरू आपसमा मिल्न नसक्ने के रहेछ ? बुर्जुवाहरू त मिलिरहेका हुन्छन् । तुलनात्मक रूपले बुर्जुवा भन्दा कम्युनिस्ट पार्टी धेरै फुट्नुको कारण के हो ? यसको त कारण छ । हामीमा जनसूत्रवाद छ की, मनोवाद हाबी छ की ? सङ्कीर्णता हाबी छ की ? अलिअलि मतभेद त जहाँ पनि हुन्छ । मतभेद नभएको दुनियाँमा कहाँ हुन्छ ? परिवारमा पनि अन्तर्विरोध हुन्छ । अनि हामी अलिकति अन्तर्विरोध हुँदैमा छुट्टिनै पर्ने, अर्को पार्टी बनाउनै पर्ने यो किन भएको छ ? यसको अलि राम्रो अध्ययन, विश्लेषण गर्नुपर्छ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने कुरा दुःखदायी भएको बताए । श्रेष्ठले क्रान्ति शुद्धतामा अगाडि नबढ्ने भन्दै नेपालमा सामन्तवाद विरोधी क्रान्ति आधारभूत रूपमा सम्पन्न भयो की भएन भनेर हेर्न जरुरी रहेको बताएका थिए । सामन्तवाद विरोधी क्रान्ति नै गर्छु भन्नु गलत भएको भन्दै सामन्तवाद आधारभूत रूपमा अन्त्य भएको उनको भनाई थियो ।
उनले समाजवादउन्मुख समृद्धि अहिलेको मूल कार्यक्रम र रणनीति बनाउनुपर्ने बताए । उनले भने, ‘फेरि नयाँ जनवादी क्रान्ति गर्नुपर्छ कि भन्ने बहस पनि अहिले बाँकी हुनु दुःखदायी कुरा हो । किनभने क्रान्ति शुद्धतामा अगाडि बढ्दैन । नेपालमा सामन्तवाद विरोधी क्रान्ति आधारभूत रूपमा सम्पन्न भयो की भएन भनेर हेर्ने हो । त्यसको आदर्श मोडेल नयाँ जनवाद हो । जसको नेतृत्व कम्युनिस्ट, सर्वहारा वर्गले गर्छ र त्यसको प्रभुत्वमा त्यो समाजवादमा शान्तिपूर्ण रूपले सम्पन्न हुन्छ, त्यो नयाँ जनवाद हो । त्यही रूपमा यहाँ सम्पन्न हुन सकेन यो सत्य हो । हाम्रो क्रान्तिको आदर्श मोडेलमा नयाँ जनवाद थियो, अहिले नयाँ जनवादी क्रान्ति सम्पन्न भएर नेपालमा नयाँ जनवाद स्थापना भएको स्थिति होइन । त्यसो भनेर फेरि सामन्तवाद नै छ, सामन्तवाद विरोधी क्रान्ति नै गर्छु भन्नु गलत कुरा हो । सामन्तवाद आधारभूत रूपमा अन्त्य भएको छ । त्यसका अवशेषहरू बाँकी छन् ।’ उनले नेपाल अहिले समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा रहेको बताए ।
त्यसैगरि नेकपा मालेका महासचिव एवं पुर्व उपप्रधानमन्त्री सीपी मैनालीले नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको आरोप लगाए । मैनालीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेको खण्डमा ०८४ सम्मै सरकार अघि बढ्ने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताएका थिए । उनले अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेको दाबी गरे । उनले बाह्य शक्ति, अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिले भने त नढल्ला तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर लागिरहेको छ । देशभित्रका कतिपयले पनि त्यो बाह्य शक्तिको कुरामा च्याखे लगाइरहेका छन् । त्यसले गर्दा यति सङ्ख्याले बहुमत नै भए पनि सरकार ढल्न कुनै आइतबार लाग्दैन । किनभने बाह्य शक्ति अहिले हाबी छ । बाह्य शक्तिहरूसँगको हाम्रो अन्तर्विरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्ति यो अहिलेको हाम्रो देशको विरोधी शक्ति हो ।’ महासचिव मैनालीले कम्युनिस्टहरू बसेर आफूले गरेका कमी, कमजोरीहरूबारे छलफल गर्न जरुरी रहेको जिकिर गरे ।
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा उक्त कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं पुर्व उपप्रधानमन्त्री वामदेव गौतम, नेकपा मशालका संयोजक बिमल शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीताराम तामाङ ,नेपाल क्रान्तिकारी पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेल, नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, नयाँ जनवादी मोर्चाका उदय अधिकारी, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य, एकदेव आले स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष रामलाल काफ्ले लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा एकदेव आले जीवित रहदा उहाँसँग निकट भई काम गर्ने संविधानसभाका सदस्य माननीय तुलसा थापा, एकदेव आलेका भाइ दिर्घ बहादुर आले, एकदेव आलेको छोरी मधुमाया पाचेलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमा प्रतिष्ठानका अध्यक्ष सिग्देलले अवधारणा पत्र प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सन्चालन प्रतिष्ठानकी महासचिव सिर्जना सिग्देलले स्वागत सचिव माधव प्रसाद अधिकारी र धन्यवाद मन्तव्य सचिव नेत्रबहादुर रानाभाटले राखेका थिए ।