बन्दीपुर, माघ १३
बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ र भानु नगरपालिकाको वडा नम्बर १ डुम्रे भन्सार नयाँ शहर आयोजनामा समावेश भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको निर्णय अनुसार बन्दीपुर गाउँपालिका वडा नम्बर १ र भानु नगरपालिका वडा नम्बर १ को पुरै भाग डुम्रे भन्सार नयाँ शहर आयोजनामा समेटिएका हुन् ।
मन्त्रालयले नयाँ शहर आयोजनाको कार्यक्षेत्र पहिचान गर्ने क्रममा डुम्रे भन्सार नयाँ शहर आयोजनाको लागि उक्त दुई पालिकाका दुई वटा वडालाई कार्यक्षेत्रमा समेटेको हो । बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ लाई नयाँ शहर आयोजनामा समेट्न बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले निकै पहल गरेका थिए । अध्यक्ष थापाले यस अघि पटक पटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेलाई भेटी वडा नम्बर १ लाई नयाँ शहरको कार्यक्षेत्रमा समेट्न अनुरोध र पहल गरेका थिए ।
भानु नपा–१ को भन्सारमा नयाँ शहर आयोजनाको कार्यालय स्थापना भएपनि कार्यक्षेत्र पहिचान नहुँदा उक्त कार्यालय नै अन्यौलमा परेको थियो । बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले नयाँ शहर आयोजनाको कार्यक्षेत्रमा वडा नम्बर १ समेटिनु सकारात्मक भएको भन्दै यस कार्यको लागि पहल गर्ने सबैमा धन्यवाद दिएका छन् । उनले अव बन्दीपुरको वडा नम्बर १ मा शहरी आयोजनाको कार्यक्रम लागु हुने बताए ।