देवघाट, माघ १३
देवघाट महामहोत्सवको १३ औं दिन आइतबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालको नेतृत्वमा करिब २ हजार भक्तजन महोत्सवमा सहभागी भएका छन् । गोकर्णेश्वर नगरपालिकाको सौजन्यमा ५५ वटा निःशुल्क गाडीको व्यवस्थापन गरी मेयर रिसालको नेतृत्वमा नगरवासीलाई देवघाट महोत्सवको दर्शन र तीर्थयात्रा गराइएको थियो । उक्त अवसरमा मेयर रिसालले मातापिता सेवाश्रम निर्माणार्थ ५ लाख रुपैयाँको चेक महोत्सवका सत्संकल्पकर्ता इश्वरकृष्ण महाराजलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर रिसालले धार्मिक पर्यटन नेपालकै आर्थिक क्रान्तिको बलियो माध्यम हुन सक्ने बताए । उनले गोकर्णेश्वर नगरपालिकाले आफ्ना स्रोतबाट नगरभित्रका सम्पूर्ण धार्मिक, पुरातात्विक, र सांस्कृतिक धरोहरहरूको संरक्षण र पुनर्निर्माणमा निरन्तर काम गरिरहेको जानकारी दिए । मेयर रिसालले देवघाट, मुक्तिनाथ, पशुपतिनाथ, गोकर्ण जस्ता धार्मिक स्थलहरूमा आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउनकोलागि लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले धार्मिक पर्यटनले आर्थिक विकास मात्र नभई समाजमा सकारात्मक सोच, विश्व बन्धुता र शान्ति पनि ल्याउने बताए ।
गोकर्णेश्वर नगरपालिकाले भक्तजनको सुविधालाई प्राथमिकतामा राखी यात्राका क्रममा एम्बुलेन्स, चिकित्सक, र नगर प्रहरी समेत साथमा राखेर यात्रा सहज र सुरक्षित बनाएको थियो । यो व्यवस्थाले तीर्थयात्रामा सहभागी भक्तजनहरूलाई थप आत्मीयता र सहजताको अनुभव कसरि गराउने भन्ने अलग प्रतिमान स्थापित भएको आयोजकले जनाए ।
मातापिता सेवाश्रम तथा देवघाट दिव्यधामका परिकल्पनाकार इश्वरकृष्ण महाराजले गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र समस्त गोकर्ण नगरवासीप्रति कृतज्ञता व्यक्त गरे । उनले मेयर रिसालबाट अन्य स्थानीय निकायले पनि प्रेरणा लिनुपर्ने बताउँदै तीर्थयात्रा परमार्थ र पुण्यको मार्ग त हो नै साथमा देशको अर्थतन्त्रलाई चलायमान बनाउने माध्यमसमेत भएको चर्चा गरे ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको सक्रियता र भक्तजनहरूको ठूलो सहभागिताले देवघाट महा–महोत्सवको गरिमा थप उज्यालो बनाएको आयोजकले जनाएका छन् । धार्मिक पर्यटनमार्फत आन्तरिक र बाह्य विकासका सम्भावनाहरूको दिशामा मेयर रिसालको नेतृत्व उदाहरणीय बन्न पुगेको भन्दै महा–महोत्सवका आयोजकले मातापिता सेवाश्रमको निर्माणमा गरिएको सहयोग र सहभागिताले धार्मिक क्षेत्रको उठान र प्रचारमा गोकर्णेश्वर नगरपालिकाको महत्वपूर्ण भूमिका झल्काएको जनाएका छन् ।