दमौली, माघ २९
व्यास नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बसन्त आलेले व्यास नगरपालिकाको सरसफाई केन्द्र स्थापना र त्यसकोलागि जग्गा खरिद पक्रियामा नगरपालिकाका कर्मचारीबाट असहयोग भएको बताएका छन् । मंगलबार विहान सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस लेख्दै वडा अध्यक्ष आलेले कर्मचारीको असहयोगको कारण हालसम्म सरसफाई केन्द्र स्थापना हुन नसकेको दावी समेत गरेका छन् ।
उनले व्यास १३ मा स्थापना हुन लागेको ल्याण्डफिल साईट र डम्पिङ साइट नभई सुक्ष्म सरसफाई बर्गिकरण केन्द्र भएको बताएका छन् । ‘ल्यान्डफिल साइट (फोहोरलाई जमिनमा गाड्ने), डम्पिङ साइट (फोहोरलाई थुपार्ने) होइन, सूक्ष्म सरसफाई वर्गीकरण (फोहोरलाई छुट्याउने) केन्द्र हो, छोटकरीमा सरसफाई केन्द्र भन्न सकिएला । त्यस केन्द्रमा गएका ९५ प्रतिशत सामग्रीहरू सुक्ष्म वर्गीकरण गरी, केही तहको प्रशोधन गरेर बिक्री गरिनेछ । यो थ्री आर (रिड्युस, रिसाईकिल र रियुज) को आधुनिक मोडेलमा सञ्चालन हुने हो, धनगढीको जस्तै । कति वर्ष भयो व्यास नगरपालिका भएको ?’ उनले लेखेका छन् ‘सरसफाई व्यवस्थापन केन्द्र नभएको नगरपालिका शौचालय नभएको घरजस्तै हो । हामी कस्तो घरमा बसिरहेका छौं ? शौचालय चाहिने कसलाई हो ?’
‘मलाई आदरणीय स्वः पुरुषोत्तम काफ्ले बुबाले एक दिन सम्झाउँदै भन्नुभएको कुरा याद आयो’ भन्दै आलेले भनेका छन् ‘बाबु बसन्त, तिमी सधैं नदीको उल्टो धारमा हिँड्छौ । “आज पनि मेरो बानी उस्तै छ । ठिक लागे समर्थन गर्छु, बेठीक लागे गर्दिन । हाम्रो समाजमा यस्तो मान्छे उल्टै देखिन्छ ।’ यस सन्दर्भमा उनले विभिन्न घटनाक्रमहरु पनि उल्लेख गरेका छन् ।
वडा अध्यक्ष आलेका अनुसार घटना नम्बर १–‘सरसफाई जग्गा व्यवस्थापन समितिको संयोजकमा चयन भएको थिएँ । एकजना वरिष्ठ अधिकृतज्यू, जसलाई म दाइ भन्छु, उहाँले भन्नुभयो, यो संयोजक बसेर कुनै काम छैन । यो काम तिम्रो कार्यकालमा सम्भव छैन । म उल्टो धारतिर गएँ ।’ घटना नम्बर २–‘जग्गा प्राप्ति (खरिद) को कुरा चलिरहेको थियो । एकजना स्थानीय नेताज्यूले भन्नुभयो बसन्तजी त्यहाँ त सरसफाई केन्द्र बनाउने होइन, त्यहाँ त ४० रोपनीमा ४० वटा घर बनाउने हो । बरु तपाईँलाई पनि पार्टनर राख्छौं । नभए एक रोपनी तपाईँलाई पनि आउँछ । म उल्टो धारतिर गएँ ।’
त्यसैगरि घटना नम्बर ३ ‘जग्गा प्राप्ति (खरिद) गर्ने निर्णयको मसी सुक्न पनि पाएको थिएन, अख्तियारबाट चिठी आएको छ भनेर देखाउनुभयो । आफै डाक्टर आफै बिरामी । एक पाइला नचाल्दै तँ किन दौडिएको ? भने जस्तो लाग्यो । म उल्टो धारतिरै गएँ ।’ घटना नम्बर ४ मा उनले नगरपालिकाका कर्मचारीले ‘कुहिनेपनि लैजाने भनेर नलेख्ने भए हामी साइन गर्दैनौं’ भनेर कुहिने फोहोर पनि व्यवस्थापन गर्ने विषय समेट्न दवाव दिएको दावी गरे । ‘कुहिने फोहोर अन्यत्रै व्यवस्थापन भैरहेको छ, १३ मा होइन भन्ने व्यास १३ का जनप्रतिनिधिहरूको अडान र केही वरिष्ठ कर्मचारीले ‘कुहिनेपनि लैजाने भनेर नलेख्ने भए हामी साइन गर्दैनौं’ भनेपछि कर्मचारीकै दबाबमा त्यो लेखियो र कर्मचारी टोलमा गएर आफै यस्तो लेखिएको छ, विरोध गर्नुपर्छ भनेर भाषण गरे । आफै धामी आफै बोक्सी । त्यसैले म उल्टो धारतिरै गएँ ।’ आलेले भनेका छन् ।
घटना नम्बर ५ भन्दै आलेले भनेका छन् ‘हामी मन्त्रालय गयौँ, यो फाइल आएको दुई वर्ष भयो । आजसम्म कुनै कर्मचारीले फलोअप गरेको छैन । मन्त्रालयका कर्मचारीको प्रश्न थियो यो तपाईहरु व्यक्तिलाई चाहिएको हो कि व्यास नगरपालिकालाई ? व्यास नगरपालिकामा कर्मचारी छैनन् ?’ भन्ने जवाफ दिएको भन्दै निर्णय कार्यान्वयनका लागि कारिन्दाहरू घाम ताप्ने र जनप्रतिनिधि नै धाउनुपर्ने तितो सत्य बीच मैले उल्टो धार रोजेँ भनेका छन् ।
‘प्रस्तावित जग्गाको सँधियारहरूको सहमतिको सर्जमिन म वडाध्यक्षको प्रत्यक्ष उपस्थितिमा भएको हो । दलबहादुर थापासँग भने सम्पर्क हुन सकेन । यद्यपि सँधियारमा उहाँको नाम र कित्ता नम्बर त उल्लेख गर्नै प¥यो, हस्ताक्षर छैन । अरु सबै सँधियारको सहीछाप म आफै वडाध्यक्षको रोहबरमा गराइएको हो । झुठा वा नक्कली प्रमाणित गर्ने चुनौती दिन्छु । झुठा भए सजाय भोग्न पनि तयार छु । सरसफाई केन्द्रको आयोजनासँगै सडक बन्छ, पार्क बन्छ, बजेट बढ्छ, विकास बढ्छ, पर्यटन बढ्छ, आधुनिक हुन्छ, व्यवस्थित हुन्छ, सूक्ष्म वर्गीकरण हुन्छ, जथाभावी फोहोर हुँदैन भनेकै हो । के लेखेको छ भनेर पढेर सुनाइएकै हो । एक वर्ष भयो व्यास नगरपालिकाले वर्गीकरणको काम सानो नमुनाका रूपमा नगरपालिकाकै कम्पाउन्ड भित्र गरेको तर वरिपरिको कुनै दोकानहरूले गनायो भनेको छैन । त्यहीँ दिनदिनै ब्याडमिन्टन खेलिन्छ, कसैले गनायो भनेको छैन । तर यहाँ काम सुरु नहुँदै गनाउन थालेको छ । म गनाउने बाटो हिँड्न सकिन, मैले उल्टो धार रोजेँ ।’ उनले भनेका छन् ।
‘व्यास–१३ मा आधुनिक सरसफाई व्यवस्थापन सम्बन्धी देशकै सफल सरसफाई परामर्शदाता आदरणीय कृष्ण भण्डारीबाट राजनीतिक दल, विद्यालय, टोल विकास संस्था, सामुदायिक वन, युवा क्लब, महिला समूह, बौद्धिक सामाजिक व्यक्तित्वहरू गरी सातवटा प्रशिक्षणहरू भए । भित्र अति प्रभावकारी प्रशिक्षण हुँदै थियो, कोही सहभागी प्रशिक्षार्थी विपक्षमा थिएनन् तर हल बाहिर बसेर तत्कालीन सरसफाई शाखा प्रमुख कर्मचारीबाट यो हुँदैन भन्दै भड्काउने काम भइरहेको थियो । त्यही संस्थामा, त्यही शाखामा नोकरी गर्ने त्यही शाखा प्रमुखले नुनको सोझो समेत नगर्ने प्रवृत्तिको बाटो म हिँड्न सकिन, त्यसैले मैले उल्टो धार रोजेँ ।’ उनले लेखेका छन् ।
सरसफाई परामर्शदातालाई नगरपालिकाका कर्मचारीले असहयोग गरेको बारेमा उल्लेख गर्दै आलेले भनेका छन् ‘वालिङ, धनगढी लगायत देशका दर्जनौं नमुना सरसफाई केन्द्रका सफल परामर्शदाता प्रशिक्षक आदरणीय कृष्ण भण्डारीलाई व्यास नगरपालिकामा परामर्शदाताका रूपमा विशेष अनुरोधमा नियुक्ति गरियो । उहाँको प्रशिक्षण र कामबाट सारा नगरवासी प्रशिक्षार्थी खुसी भए तर कर्मचारी खुसी देखिएनन् । नगरपालिकामै सबैभन्दा धेरै तलब खाने परामर्शदाताको नगरपालिकाभित्र एउटा बस्ने कुर्सी र टेबल पनि देख्न पाइएन । उहाँको करियरमै सम्भवत पहिलोपटक उहाँ सरसफाई व्यवस्थापनको काम पूर्ण रूपमा सम्पन्न गर्न नसकी बिदाई हुनुभयो । कारण सबैलाई प्रष्ट भयो होला । म अपमान, तिरस्कार र तदर्थवादको बाटो हिँड्न सकिन । त्यसैले मैले उल्टो धार रोजेँ ।’
‘मलाई थाहा छ, यसका पछाडि यसलाई असफल पार्न ठूलो गिरोह लागेको छ । कोही सस्तोमा जग्गा हत्याएर महँगोमा बेच्न चाहन्छ, कोही घर बनाएर बेच्न चाहन्छ, कोही ठूलै कमिसन चाहन्छ, कोही राजनीतिक प्रतिशोध र कुण्ठा साँध्न चाहन्छ, कसैलाई अर्को चुनाव सम्म फोहोरको एजेन्डा सकिने भयो भन्ने चिन्ता छ । म ढुक्क छु । साक्षी छन्, प्रमाण छन् । बिचरा सोझा जनतालाई मोहोरा बनाइएको मात्रै हो । म जनतालाई दोषी देख्दिन । मलाई तिनै जनताले जिताएका होइनन् ? फेरि पनि मलाई जनता चाहिँदैनन् र ? मलाई स्वच्छ वातावरण चाहिँदैन र ? उक्त योजनाको वातावरणीय परीक्षण प्रतिवेदन अहिलेसम्म कसैले अध्ययन गर्नुभएको छ ? नबिराउने, नडराउने र नतिजा देखाउने हाम्रो अभियान हो । बुझ्नेलाई इशारा काफी छ, नबुझ्नेलाई बुझाउनै बाँकी छ । केही गल्ती भए माफ पाउँ ।’
व्यास नपा–१३ कटनछापा स्थित युगिन कृषि फर्मको नाममा रहेको करिब ३९ रोपनी १५ आना १ पैसा ३ दाम बराबरको जग्गामा सरसफाई केन्द्र निर्माण गर्ने नगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरि वडा अध्यक्ष आलेलाई जग्गा व्यवस्थापन समितिको संयोजक बनाएको थियो । तर विभिन्न पक्षको विरोध र अवरोध पछि जग्गा व्यवस्थापन कार्य हाल रोकिएको छ ।