देवघाट, माघ २९
गत माघ १ गतेदेखी देवघाटधाममा आयोजना भएको देवघाट महा–महोत्सव बुधबार समापन हुने भएको छ । एक महिने लामो उक्त महा–महोत्सवको कार्यक्रमहरु बुधबार समापन गरिने महा–महोत्सवको आयोजक विश्व जागरण महाअभियान ट्रष्ट चितवनले जनाएको छ ।
विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक एवं लोकप्रिय भागवत कथावाचक इश्वरकृष्ण महाराजको संकल्पमा तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधिन ३६५ कोठाका मातापिता सेवा आश्रमको पुर्णता र सोही स्थानमा देवघाट दिव्यधाम निर्माण गर्न रकम संकलन गर्ने उद्देश्यले देवघाट महा–महोत्सव आयोजना गरिएको थियो ।
उक्त महा–महोत्सव २५ लाख भन्दा बढि भक्तजनले प्रतक्ष्य अवलोकन गरेको र २० करोड भन्दा बढि रकम संकलन भएको बताईएको छ । महा–महोत्सवको आम्दानी खर्च भने एक साता भित्र पत्रकार सम्मेलन गरि सार्वजानिक गरिने आयोजकले जनाएको छ ।
इश्वरकृष्ण महाराजको सत्संकल्पमा ३६५ कोठाहरूको संरचनासहित वृद्धवृद्धा र असहायहरूको लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ तनहुँमा मातापिता सेवाश्रम निर्माणाधीन छ । यो परियोजनाले देवघाट क्षेत्रलाई धार्मिक, सांस्कृतिक र सामाजिक सेवाको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षालाई अघि बढाएको छ ।
देवघाट महा–महोत्सवको ३० दिन दैनिक रुपमा विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । संघीय सरकारका मन्त्री, बाग्मती तथा गन्डकी प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका सभापती देखी बरिष्ठ नेताहरु, प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरु, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरु, चलचित्रका नायक, नायिका, गायक, गायिकाहरु तथा देशबिदेशबाट लाखौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहेको थियो ।
उक्त महा–महोत्सवमा विश्वप्रसिद्ध कथा वाचिका देवी प्रतिभा, विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डे, लोकप्रिय कथा वाचक ओमप्रकाश सुवेदी, यसोदा माता लगायत लोकप्रिय कथावाचकहरुले भागवत कथा वाचन गरेका थिए ।