देवघाट, फागुन ४
देवघाट आउने हरेक भक्तजन गलेश्वर आश्रम नपुगेका सायद कोही छैनन् होला । र देवघाटको गलेश्वर आश्रममा रहेको सिद्धेश्वर महादेवको मन्दिर अगाडी फोटो नचिच्ने पनि सायदै छैनन् होला । किनकी तनहुँ तर्फबाट पवित्र त्रिशुली र कालिगन्डकी नदीको संगममा जाने मुख्य बाटोमै रहेको छ सिद्धेश्वर महादेव मन्दिर । उक्त मन्दिरको आँगनबाट मात्र बेणी संगममा जान सकिन्छ ।
२०७४ सालमा निर्माण सम्पन्न भएको उक्त मन्दिर प्यागोडा शैलीमा निर्माण भएको नेपालकै सबैभन्दा ठुलो मन्दिर हो । गलेश्वर आश्रमका पिठाधिश महामन्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरीजी महाराजका अनुसार उक्त मन्दिर ९ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । प्यागोडा शैलीको मन्दिर नेपालमा यो भन्दा ठुलो अर्काे छैन । उक्त मन्दिर पशुपतिनाथको मन्दिर भन्दा ४ फिट अग्लो र ४ फिट चाक्लो रहेको छ । ६ वर्ष लगाएर निर्माण भएको उक्त मन्दिर आजभन्दा १० वर्ष अघि नै ९ करोड खर्च भएको महामन्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले बताए । २०७४ सालमा मन्दिर निर्माण सम्पन्न भएपछि प्राणप्रतिष्ठा गरि सिद्धेश्वर महादेवको मन्दिर नामाकरण गरिएको उनले बताए ।
मन्दिर निर्माण सम्बन्धि रोचक कथा छ । आश्रमका पिठाधिश स्वामी आत्मानन्द गिरीजी महाराजका अनुसार ‘आज भन्दा १२ वर्ष अघिको कुरा हो, म आश्रम परिसरमा बसिरहेको थिएँ, त्यसैबेला दुई जना महिलाहरु आएर २ जना महिलाहरु आएर मसँग गुरु महाराज यहाँ मन्दिर कहाँ छ भनेर सोध्नुभयो । मैले उ त्यही ज्योर्तीलिङ्गेश्वर मन्दिर देखाएँ, केही समयपछि केही युवाहरु आएर ति आमाहरुलाई ए आमा हो कहाँ जानु भएको हो ? बाटो यता छ, यता आउनु भने । आमाहरुले ए बाबु हो यहाँ मन्दिर छ, दर्शन गर्न आओ भनेर भन्दा ति युवाहरुले यस्ता झारेझरे मन्दिर त हाम्रो गाउँमा कति छ कति । देवघाटमा त ठुला ठुला मन्दिर पो हुनुपर्छ भने ।’
‘यहाँ देवघाटमा हेर्ने लायक के छ भनेर धेरैले सोध्ने गर्थे आफुले त्यही ज्योर्तीलिङ्गेश्वर मन्दिर देखाउँदा यस्तो सानो मन्दिर हैन के ठुलो मन्दिर कता छ भनेर सोध्ने गर्थे ।’ पिठाधिश गिरीजी महाराजले भने ‘मन्दिर ठुलो र सानो हुँदैमा भगवान सानो र ठुलो हुँदैन । तर पनि मेरो आत्माले यस्ता व्यक्तिहरुको आस्था र श्रद्धा बचाउन पनि एउटा ठुलो मन्दिर बनाउने प्रेरणा दिएको थियो, त्यही भएर मन्दिर निर्माण भयो ।’ उनका अनुसार आज उक्त मन्दिर देवघाटको मात्र नभई नेपालकै राष्ट्रिय धरोहर भएको छ ।
सो मन्दिर बनाउँदा सरकारको एक रुपैयाँ पनि नपरेको उनले बताए । संकल्प गरेपछि भक्तजनहरुबाट प्राप्त दान र सहयोगले नै मन्दिर निर्माण भएको पिठाधिश गिरीले बताएका छन् । आज देवघाटमा आउने हरेक जो कोही व्यक्तिपनि उक्त मन्दिर अगाडी उभिएर सेल्फी फोटो र टिकटक बनाउन पाएका छन् । यसले आफुलाई निकै गर्व लागेको भन्दै उनले उक्त मन्दिरले सबै उमेर समुहको आस्था र श्रद्धा जगाएको बताए । यो मन्दिर हजारौ वर्षसम्म सबैको आस्था र धरोहरको प्रतिक बन्ने दावि पिठाधिश गिरीले गरेका छन् ।
तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल, प्राचीन पुराणहरुमा आदिप्रयाग हरिहर क्षेत्रका नामले वर्णित देवताहरुको तपोभूमी देवघाटधाममा रहेको गलेश्वर आश्रम धामिर्क तथा शैक्षिक उन्नयनको केन्द्रको रुपमा विकास हुँदै गएको छ । तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकीलाई पच्छ्याउने क्रममा वि.सं.१९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी आश्रमको स्थापना गरेका थिए । सोही आश्रम गलेश्वर आश्रमको रुपमा चिनिन्छ ।
आश्रम अन्तर्गत हाल एक सय ८५ वटा कुटी छन् । त्यसैगरी सिद्धेश्वर महादेव सहित ज्योतिर्लिङ्गश्वर महादेव, गङ्गामाला मन्दिर, सहक्षल्पेश्वर हनुमान मन्दिर राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर पनि आश्रम परिसरमा रहेका छन् ।