देवघाट, फागुन ६
देवघाट गाउँपालिका–५ स्थित महेश संन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा आज देवघाटमा कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्वको पहिचान र मानवीय अतिक्रमणको निदानका निम्ति साझा विचार र योजना निर्धारण गर्ने उद्देश्यले विमर्श सभा गर्न हुने भएको छ ।
पवित्र कालीगण्डकी नदीको प्राकृतिक स्वरूप र संरचना संरक्षणका निम्ति जनस्तरबाट गरिनुपर्ने साझा पहल र सूचना निर्धारण गर्ने उद्देश्यले अभियन्ता र सरोकारवालाहरूको विशेष सहभागितामा रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा महेश संन्यास आश्रम देवघाटमा गण्डकीका जीवनहरू विषयक एकदिने विमर्श सभा हुने आयोजकले जनाएको छ ।
रामानन्द अनुसन्धान केन्द्र पूर्वीय संस्कृति, धर्म, दर्शन, सभ्यता र ज्ञानविज्ञानको अध्ययन अनुसन्धानका निमित्त खोलिएको र विगतका दिनहरूमा पूर्वीय वाङ्मय र सभ्यतासँग सम्बन्धित विचार–विमर्श, सङ्गोष्ठी आदि गर्दै आइरहेको केन्द्रले जनाएको छ । पूर्वीय सभ्यतामा पूजित एवं पुराणहरूमा वर्णित गण्डकी सभ्यताको अस्तित्त्व रक्षार्थ उक्त विमर्श सभा गर्न लागिएको आयोजकले जनाएको छ ।
काली गण्डकी सनातन अनुयायीहरूले अत्यन्तै आस्था राख्ने पवित्रतम नदी हो । समृद्ध सभ्यता भएर पनि राज्यका तर्फबाट तथा जनसमुदायका तर्फबाट वेवास्ता गर्दै नदीको अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी दोहन तथा प्रस्रवण नै पथान्तर (कालीगण्डकी डाइभर्सन) गर्ने सम्मका गतिविधिमा अघि बढेको देखिन्छ । त्यसको रोकथामका निम्ति सो विमर्श सभा अत्यन्तै उपयोगी हुने दावी गरिएको छ ।
विमर्श सभामा कालीगण्डकी नदीको प्रचारप्रसार, संरक्षण र संवर्धनमा लागिपरेका अभियानकर्मी, सरोकारवाला, स्थानीय निकाय, मठमन्दिर आश्रम तथा स्थानीय जनसमुदायको सहभागिता रहने छ । कानुनी प्रक्रियाबाट नदी संरक्षणमा गरिएका पहलहरू, दोहन तथा अतिक्रमणका विरूद्धमा भएका प्रयासहरू, पुराण तथा शास्त्रहरूमा वर्णित गण्डकी सभ्यता र त्यसको महत्त्व, शालग्रामको महत्व आदि विषयमा विमर्शहरू हुनेछन् ।
मानवीय अतिक्रमणबाट पवित्र कालीगण्डकी नदीलाई जोगाउन जनस्तरबाट गरिनुपर्ने पहल र सूचनाको निर्धारण गर्दै नदीको प्राकृतिक स्वरूप बिग्रिन नदिई स्वच्छ रूपमा निरन्तर प्रवाहित गर्दै, हिमाली दर्शन र गण्डकी सभ्यताको संरक्षणका साथ कालीगण्डकीलाई राष्ट्रिय नदीको रूपमा स्थापित गराउनु नै विमर्शको उद्देश्य हो । गण्डकीको धार्मिक, साँस्कृतिक, सामाजिक, पर्यावरणीय तथा पर्यटकीय महत्त्वका पाटाहरूलाई जनमानसमा पुर्याउँदै गण्डकी सभ्यताको निरवच्छिन्न उन्नयनमा टेवा पुर्याउनु रहेको छ ।
उक्त कार्यक्रममा कालीगण्डकीको विभिन्न क्षेत्रमा रहेर अध्ययन,अनुसन्धान तथा अभियान सञ्चालन गर्ने विशिष्ट व्यक्तिहरूलाई ईश्वरी जनकदेव शोधवृत्ति पुरस्कार पनि अर्पण गरिने जनाएको छ । कार्यक्रममा कालीगण्डकीसँग सम्बन्धित काम गर्ने सम्पूर्ण अभियन्ता, सरोकारवाला तथा चासो राख्ने सम्पूर्ण व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ ।