तनहुँ । फागुन ९
अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर बिरामी हुँदै मर्न थालेपछि तनहुँमा यसको ओसार पसारमा प्रतिबन्ध लगाइएको छ । उक्त रोगबाट विभिन्न स्थानमा हालसम्म १८ वटा बंगुर मर्नुका साथै केही बिरामी भएपछि ओसारपसारमा रोक लगाइएको हो ।
जिल्लामा एक महिनाअघि यो रोगको सङ्क्रमण देखिएको थियो । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बंगुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए ।
बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बंगुर तथा सुँगुर ओसारपसारमा प्रतिबन्ध लगाइएको उनको भनाइ छ ।
डा.चौधरीले भने, ‘केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बंगुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बंगुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बंगुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा ल्याएको छ ।’
तनहुँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५ सय किसानले ४० हजार बंगुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाट सर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ ।
उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बंगुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकै पटक धेरै सुँगुर बंगुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा.चौधरीले बताए ।