तनहुँ । फागुन १९
म्याग्दे गाउँपालिकामा अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सूरक्षा कोष सञ्चालन सम्बन्धि अनुशिक्षण कार्यक्रम सुरु भएको छ । म्याग्दे गाउँपालिकाले कार्यान्वयन गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सूरक्षा कोष सञ्चालन सम्बन्धमा सबै वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, आमा समुह, राजनीतिक दल तथा मजदुर संघ संगठनका प्रतिनिधिहरुकोलागि दुई दिने अनुशिक्षण कार्यक्रम सोमबार सुरु गरिएको हो ।
उक्त कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम नेपालले प्रशिक्षण दिएका छन् । जीवनभर अर्काको लागि श्रम गर्ने तर अप्ठ्यारो परेको बेला कोही नहुने तथा आर्थिक अवस्था कमजोर हुने विपन्न मजदुर वर्गलाई लक्षित गरी म्याग्दे गाउँपालिकाले तनहुँमा पहिलो पटक मजदुर सञ्चित कोष कार्यान्वयन गरेको हो ।
दैनिक ८ सय देखि १५ सयसम्म आम्दानी गर्ने भए पनि न्यून वचतका कारण संकटको अवस्था सामाना गर्न असहज हुने तथा शिक्षा, स्वास्थ्य, आवास लगायतका मानवीय एवं सामाजिक विकासको अवस्था कमजोर भएका मजदुर वर्गका लागि नीति तथा कार्यक्रम मार्फत ‘म्याग्दे गाउँपालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१’ कोषको स्थापना गरि कार्यान्वयन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
पालिकाको मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि बमोजिम पालिका भित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्ष्य गरी कोष स्थापना गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिकाले आफ्नै घर भएन भएको, परिवारमा रोजगार छ÷छैन आश्रित परिवारको संख्या लगायतलाई मजदुर छनौटका आधार तयार पारेको छ ।
आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्ष्य गरी गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उक्त कोष कार्यान्वयनमा ल्याउने म्याग्दे गाउँपालिका गन्डकी प्रदेशको दोश्रो र तनहुँको पहिलो स्थानीय तह हो । यसअघि स्याङजा जिल्लाको फेदिखोला गाउँपालिकाले उक्त कोष कार्यान्वयनमा ल्याएको थियो ।
गाउँपालिकामा सूचीकृत भएका मजदुरले सार्वजनिक विकास निर्माणका काममा संलग्न हुँदा प्राप्त गर्ने ज्याला रकम अनिवार्य रुपमा बैंकिङ प्रणालीबाट भुक्तानी प्राप्त गर्ने छन् । भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरेपश्चात् पालिकाका तर्फबाट १५ प्रतिशत रकम चौमासिक रुपमा मजदुरको बैंक खातामा वचत गर्ने व्यवस्था छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य बिमा लगायतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको छ ।
दैनिक ज्यालादारीमा कामगर्ने मजदुरको सम्पुर्ण आम्दानी दैनिक घर खर्चमा भएको अवस्था सगै मजदुरको वचत गर्ने वानीको विकास गर्न तथा श्रमिक वर्गलाई सामाजिक सुरक्षाको प्रत्याभुती गराउन उक्त कोष कार्यान्वयनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए । श्रमिकको सम्भावीत आर्थिक संकटको जोखीम कम गर्दै, मजदुरका परिवारको शिक्षा, स्वास्थ्य, आवास, पोषण, मर्यादित रोजगारी , सम्मानपुर्वक जिवनयापन, वचतको परिचालन, श्रमको सम्मान, उत्पादनकत्व अभिवृद्धि, सामाजिक आर्थिक विभेद अन्त्य गरि विकास निर्माणमा स्थानीय मजदुर लाई प्राथमिकता दिने उद्देश्यका साथ उक्त कोष कार्यान्वयन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।