तनहुँ । फागुन २५
वनजंगलमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सँगै उपभोक्ताको पनि उत्तिकै जिम्मेवारी रहने सरोकारवालाले जोड दिएका छन् । साथै वनजंगलमा डढेलो लगाउने जो कोहिलाई पनि कडाभन्दा कडा कारवाहि गर्न सुझाएका छन् ।
वन डढेलो नियन्त्रण सम्वन्धमा डिभिजन वन कार्यालय तनहुँ र भानु नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय तनहुँको सहजीकरणमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सम्वन्धित कार्यालयलाई यस्तो सुझाव दिएका हुन् । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सतर्कता अपनाउन तथा सचेतनाका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया भएको हो ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरद कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले डँढेलो नियन्त्रण सँगै वन सँरक्षणमा उपभोक्ताहरुको भूमिका महत्त्वपूर्ण रहने बताए । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वातावरणीय प्रभावमा असर पर्नुको साथै वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने भएकोेले सवैले सावधानी अपनाउनुपर्ने नगर प्रमुख त्रिपाठीको भनाई थियो ।
कार्यक्रममा बोल्दै सहायक प्रमूख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले डँढेलो नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमसँगै कानुनी कारवाहिको प्रक्रियालाई पनि सँगसँगै लैजानुपर्ने धारणा व्यक्त गरे । डढेलो लगाउने व्यक्तीलाई कानुनत कारवाहिको निश्चित मापदण्ड तोकिएकोले त्यस्ता व्यक्तीहरुको पहिचानका लागि संयन्त्रनै तयार गर्नुपर्ने उनको भनाई थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले वन डँढेलोेले पार्ने असर, डँढेलो लाग्ने कारण र डँढेलो नियन्त्रणका उपायहरुको बारेमा सहजीकरण गरेका थिए । सामुदायीक वन उपभोक्ता महासंघ भानुका अध्यक्ष मानबहादुर थापाले उपभोक्ताले निर्माण गरेको कार्ययोजना कार्यान्वयनमा लैजानु पर्ने भन्दै चोरी शिकारीलाई पनि नियन्त्रण गर्नुपर्ने बताए ।
बन जंगलमा हुने डढेलो रोक्न समुदाय र विशेष गरी सामुदायिक वन उपभोक्ता समिति चनाखो हुनुपर्ने सहभागीहरुको भनाई थियो । सहभागीहरुले जिल्लामा प्रत्येक वर्ष बनमा डढेलो लाग्ने गरेपनि कसुर गर्नेलाई हालसम्म पहिचान गरी कानुनी कारवाहि नभएको भन्दै कानुन कार्यन्वयनमा समेत जोडदिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा डढेलो सम्वन्धी डिभिजन वन कार्यालय प्रमूख शरद कुमार अधिकारीले वन डँढेलो नियन्त्रणमा उपभोक्ता समितिको दायीत्व रहेको भन्दै डढेलो नियन्त्रणका लागि संलग्नलाई कारवाहि र सुराकी दिनेलाई गोपनियतासँगै पुरस्कारको व्यवस्था रहेको बताए । उनले भने ‘वन ऐन २०७६ अनुसार कुनैपनि स्थानमा डढेलो लगाउनेलाई तीनवर्षसम्म कैद वा ६० हजार रुपैया जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सो बाहेक मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार दुईवर्षदेखि पाँच वर्षसम्म कैद, २० हजार देखि ५० हजारसम्म जरीबाना रहेको छ भने राष्टिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम १० हजार भन्दा बढिको विगो भए विगोको दोव्वर जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजायाको व्यवस्था रहेको छ ।’
सामान्य असावधानीका कारण वनजंगलमा भएको आगलागी नियन्त्रण गर्न नसक्ने गरी डढेलोको रुपमा फैलिने र डढेलोले पर्यावरण लगायत जडिवुटी, काठ दाउरा, कार्बन उत्सर्जन, साना बोटविरुवा नोक्सान गरी जैविक तथा पर्यावरणीय क्षति बढाउदै जनजीवनमा प्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पर्दछ । त्यसैगरी डढेलोका कारण वनजंगल क्षेत्रमा रहेका खानेपानीका पाइपलाईनमा नोक्सानी पु¥याउनुका साथै वनजंगलमा जोडिएर रहेका नजिकका मानववस्तीहमा जनधनको क्षति समेत हुने गरेको छ ।
उक्त कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख उमा गोतामे, सुरक्षा निकाय प्रतिनिधी, लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । भानु नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले सहजिकरण गरेको सो कार्यक्रममा बन अधिकृत मदन सुवेदीले डढेलो नियन्त्रण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।