तनहुँ । चैत ३
मंगलबार देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयका सम्बन्धन प्राप्त तथा आङ्गिक क्याम्पसहरुमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको हो । निर्वाचन विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।



केही क्याम्पसहरुमा निर्वाचनको प्रक्रियाको क्रममा सर्वसम्मत नेतृत्व चयन भईसकेको छ भने अधिकांशमा मंगलबार निर्वाचन हुने छ । निर्वाचनमा राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरु चुनावी मैदान छन् । यो निर्वाचन मिश्रीत निर्वाचन प्रणाली अन्तरगत हुनेछ । सभापती, सचिव र कोषाध्यक्ष सहित केही सदस्यहरु प्रतक्ष्य निर्वाचित हुने छन् भने उपसभापती, सहसचिव सहित केही सदस्य समानुपातिक निर्वाचनबाट चुनिनेछन् । प्रतक्ष्य तर्फ सम्बन्धित उम्मेदबारलाई नै मतदान गर्नुपर्नेछ भने समानुपातिक तर्फ निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनलाई मतदान गर्नुपर्नेछ । विद्यार्थी संगठनलाई प्राप्त मतको आधारमा उपसभापती र सदस्यहरु निर्वाचित हुनेछन् ।
स्ववियु विद्यार्थी नेता उत्पादन गर्ने कारखाना पनि हो । विगतका स्ववियुका सभापतीहरु राजनीतिक दलका महत्वपुर्ण पदमा पुगिसकेका छन् । यसबाहेक अर्काे महत्वपुर्ण कुरा के भने स्ववियु निर्वाचन राजनीतिक दलहरुको लागि मिनि आम निर्वाचन पनि हो । किनकी उक्त निर्वाचनमा राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् । उक्त चुनावी परिणामले क्याम्पस तहमा राजनीतिक दलको अवस्था कस्तो छ भन्ने देखाउने हुँदा स्ववियु चुनावलाई राजनीतिक दलका नेताहरुले पनि प्रतिष्ठाको विषय बनाएका हुन्छन् ।
तनहुँका चार क्याम्पसमा मंगलबार स्ववियुको निर्वाचन हुने भएको छ । आबुँखैरेनी क्याम्पस, दमौलीको आदिकवि भानुभक्त क्याम्पस, शुक्लागन्डकी बेलचौताराको भानुभक्त क्याम्पस र भिमादको जनज्योती क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ ।
निर्वाचन हुने मध्येमा आबुँखैरेनी क्याम्पसमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको छुट्टाछुट्टै प्यानल बनेको छ । आबुँखैरेनी क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाट सभापतीमा रक्षा पोख्रेल, नेपाली काँग्रेस निकट नेविसंघबाट सभापतीमा बोनिस अधिकारी र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट सभापतीमा निशान मगर उम्मेदबार बनेका छन् ।
यस्तै शुक्लागन्डकीको बेलचौतारा स्थित भानुभक्त क्याम्पपमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल बनेको छ भने नेविसंघको एकल प्यानल बनेको छ । सभापतीमा अनेरास्ववियुको प्यानलबाट मिनबहादुर थापा र नेविसंघबाट एजिना महतको उम्मेदबारी परेको छ ।
त्यसैगरि भिमादको जनज्योती क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धन बनेको छ भने अनेरास्ववियुको एकल प्यानल बनेको छ । नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलबाट सभापतीमा अमृत गैह्रे र अनेरास्ववियुबाट सभापतीमा विप्लव भण्डारीको उम्मेदबारी परेको छ ।
यता दमौलीको आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन भने विवादित बनेको छ । निर्धारित समयमा उम्मेदबारी दर्ता गरेका अनेरास्ववियुका उम्मेदबारहरुले आफुहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै उच्च अदालत पोखरामा निबेदन दर्ता गरेको र निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि नगर्न अन्तरिम आदेशको माग गरेकोमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्विकार गरि निर्वाचन सम्बन्धि सबै कागजात सहित १५ दिन भित्र अदालतमा उपस्थित हुन विपक्षीलाई आदेश दिएको छ । यसैकारण मुद्धाको एक पक्ष अनेरास्ववियुले अदालतको आदेश अनुसार उक्त निर्वाचन रद्ध गरि कागजात बुझाउनुपर्ने माग गरेको छ भने क्याम्पसले अदालतले निर्वाचन रोक्न आदेश नदिएको कारण निर्धारित समयमै निर्वाचन हुने जनाएको छ ।

क्याम्पस सन्चालक समितिको सोमबार बसेको बैठकले निर्धारित मितिमै निर्वाचन गर्ने निर्णय गरेको थियो । स्ववियु निर्वाचनका सिलसिलामा केही विद्यार्थी संगठनले उच्च अदालत पोखरामा निर्वाचन रोक्न दिएको रिट उपर निर्वाचन रोक्ने आदेश नभएको र केही विद्यार्थी संगठनले विभिन्न माग राखी स्याम्पस प्रमुख समेतको कार्यालयमा तालाबन्दी गरेको सम्बन्धमा क्याम्पस सञ्चालक समितिको बैठकमा व्यापक छलफल भएको भन्दै लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन भएकाले फागुन ५ गते हुने निर्वाचनलाई निष्पक्ष र मर्यादित वातावरणमा शान्तपूर्वक सम्पन्न गर्न राजनैतिक दल, विद्यार्थी संघ÷संगठन, प्रशासनिक तथा शान्ति सुरक्षा सम्बद्ध निकाय, क्याम्पस सम्यानक समिति, अभिभावक, विद्यार्थीहरु लगायत सरोकारवाला सबैसँग क्याम्पसले अनुरोध गरेको छ । साथै विद्यार्थी संघ÷संगठनका जायज मागहरुलाई निर्वाचन सम्पन्न भएपछि क्याम्पसले सम्बोधन गर्ने भन्दै स्ववियु निर्वाचनमा सहभागिता जनाउन सबै विद्यार्थी संघ÷संगठनलाई अनुरोध गरेको छ ।
आदिकवि भानुभक्त क्याम्पसमा सभपातीमा नेविसंघबाट अनुप आले, अनेरास्ववियुबाट सविन लामिछने र अखिल क्रान्तिकारीबाट निर्दाेष भट्टराईको उम्मेदबारी परेको छ ।











