तनहुँ । चैत ७
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका –५ स्थित मस्र्याङ्दी रिभरसाइड रिसोर्टमा चैत्र ५ गतेदेखि ७ गतेसम्म तालिम सञ्चालन गरिएको थियो ।



तालिमका क्रममा बाख्रापालन कसरी गर्ने, खोर निर्माण गर्ने तरिका, उचित आहार व्यवस्थापन, बाख्राका रोग पहिचान तथा रोकथामका उपाय जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य, डा. पूर्णबहादुर श्रेष्ठ, भेटेरिनरी प्राविधिक अर्जुन खनालले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले बाख्रापालनलाई आधुनिक र वैज्ञानिक तरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए ।
लघुवित्तका कार्यालय प्रमुख सुजन न्यौपानेका अनुसार सिपमूलक तालिमद्वारा स्थानीयलाई उद्यमशील बनाउने तथा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो । बाख्रापालन व्यवसाय गर्न चाहने व्यक्तिहरूलाई वित्तीय सहायता पनि प्रदान गरिने जानकारी दिँदै उनले ७ लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराइने बताएका छन् ।
तालिममा ३६ जना महिला सदस्यहरू तथा उनीहरूका परिवारका सदस्यहरू सहभागी भएका थिए। सहभागीहरू गोरखाको पालुङटार, तनहुँको बन्दीपुर, आबुखैरेनी, भानु, व्यास लगायतका स्थानहरूबाट आएका थिए ।
डुम्रे शाखाका वरिष्ठ सहायक लेखा पाल सुमनराज गौतमका अनुसार यो तालिम स्थानीय समुदायका लागि अत्यन्तै उपयोगी हुने विश्वास गरिएको छ । तालिममा सहभागीहरूले आफ्नो व्यवसायिक क्षमतामा वृद्धि भएको महसुस गरेको प्रतिक्रिया दिएका छन् ।
स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि। प्रचलित कम्पनी ऐन वमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखारउपशाखा र ९ वटा ईलाका कार्यालयहरु मार्फत करीव २ लाख ६० हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुवित्तमा लगायतका अत्यावश्यक बैकिङ÷वित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।












