तनहुँ । चैत १०
राजमार्ग विस्तारको क्रममा पृथ्वीराज मार्गमा भएको एक महिना सम्मको आंशिक अवरोध हटेको छ । विस्तारको क्रममा रहेको पृथ्वीराज मार्गको मुग्लिङ–पोखरा अन्तर्गतको पूर्वी खण्डमा भएको अवरोध शुक्रवारबाट हटेको हो ।



राजमार्ग विस्तारको कामको लागि तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द भएको थियो । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन एक महिना सम्मको लागि यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न गरिएको थियो ।
उक्त खण्ड आवश्यकताअनुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिएकोमा सो अवरोध हटेको मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । निर्माणको काम भने जारी रहेकोले आंशिक रूपमा करिब १५ मिनेट सम्म अवरोध हुन सक्ने उनले बताए ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।












