व्यास र ऋषिङ जोड्ने सेतीनदीमा पुल निर्माणले गति लियो, हालसम्म ४५ प्रतिशत प्रगति

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २१

व्यास नपा–३ देउरालीनगर र ऋषिङ गाउँ–१ झापुटार जोड्ने सेती नदीमाथि निर्माणधीन मोटर गुड्ने पुल निर्माण कार्यले गति लिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीको कारण पुल निर्माण कार्य रोकिएमा केही दिन यता पुल निर्माण कार्य सुरु भएको छ ।

उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद सहित वि.सं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरिएको थियो । सम्झौता अनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुन्थ्यो । सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । उक्त पुलको हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको पुर्वाधार विकास कार्यालयकी इन्जिनियर एवं सूचना अधिकारी शुष्मा पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार पुलको भौतिक प्रगति ४५ प्रतिशत रहेको छ । पुलको स्टील पार्ट्सको निर्माण हुने भएकाले फेब्रिकेसन कार्य भइसकेको छ । चालु आर्थिक बर्षमा एक स्पाम निर्माण कार्य पूरा हुने लक्ष्य राखिएको भन्दै उनले एक स्पामको निर्माण हुने बित्तिकै करीब ६० प्रतिशत कार्य पूरा हुने र आउँदो बर्ष पुल निर्माण सम्पन्न भएर गाडी गुड्न थाल्ने बताइन् ।

गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण भईरहेको हो । पुल निर्माणका लागि वि.सं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । एक सय ५४ मिटर लामो रहने पुलको चौडाई ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टील ट्रसको हुनेछ ।

पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँँ पालिकाका सर्वसाधारण लाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ । तर अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटर दूरी पनि छैन ।

त्यहाँ हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो । तर उक्त आदेश पूर्ण रुपमा पालन भएको छैन । हाल यहाँका सर्वसाधारणले झोलुङ्गे पुलबाट नै दुई पाङ्ग्रे सवारी साधन वारपार गर्दै आएका छन् ।

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । (लोकवाणी दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र