तनहुँ । चैत २८
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले आन्दोलनरत शिक्षकहरुको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विहिबार विज्ञप्ति प्रकाशित गरि बारा क्षेत्र नम्बर ४ का सांसद श्रेष्ठले शिक्षकहरुको जायज माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।



‘अहिले नयाँ शैक्षिक सत्र सुरु गर्ने समय भएको छ । यतिबेला शिक्षकहरु आगामी शैक्षिक सत्रका लागि योजना निर्माण, भर्नालगायतका कामको तयारी लाग्नुपर्ने बेला हो । तर, ९ दिनदेखि हजारौं शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर सडक संघर्षमा छन् । शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरुको पूरानै माग हो ।’ सांसद श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ‘नेपाल शिक्षक महासंघले यही विषयलाई लिएर यसअधि दुई पटक सडक आन्दोलन गरेको थियो । तत्कालीन सरकारले शिक्षक महासंघसँग सहमति गरेर शिक्षा ऐन जारी गर्ने प्रतिवद्धतासमेत गरेको थियो । तर, दुवैपटक सरकारले सहमति गरेअनुसार शिक्षा ऐन जारी नभएपछि शिक्षकहरु ९ दिनदेखि प्रदुषणयुक्त राजधानीका सडकहरु तताइरहेका छन् ।’
‘शिक्षक महासंघको यो आन्दोलनमा शिक्षक सम्वद्ध सबै संघ संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । शिक्षक सामाजिक चेतनाको प्रतिबिम्ब हो । समाजलाई उज्यालोको ज्योति दिने प्रकारापुञ्जका साथै यो समाजको चेतनशील र वौद्धिक जमात हो । यसबाहेक देश र समाजको आगामी सबल पुस्ता निर्माणको मुख्य आधारस्तम्भ पनि शिक्षक नै हो । त्यही कारण शिक्षकलाई हप्तौं सडकमा आन्दोलनमा रहनुपर्ने वातावरणलाई राज्यले तत्काल अन्त्य गर्नुपर्दछ ।’ सांसद श्रेष्ठले भनेका छन् ‘शिक्षकहरुले उठाएका उचित मागहरुलाई तत्काल सम्बोधन गर्दै शिक्षकलाई सडकमा होइन् विद्यालयमा फर्काउन पहल गर्न सरकारसँग जोडदार माग गर्दछु । शिक्षकहरुको आन्दोलन लम्बिदै जाँदा एकातिर नयाँ शैक्षिक सत्रका शैक्षिक गतिविधीहरु प्रभावित हुनेछन् भने अर्कोतर्फ यसले अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको नराम्रो सन्देश प्रवाहित हुने खतरा छ ।’
त्यसैले नेपाल सरकारसँग ९ दिनदेखि जारी शिक्षक आन्दोलनलाई तत्काल वार्ता र सहमतिका माध्यमबाट टुंग्याउन र शिक्षकलाई सम्मानसहित कक्षाकोठामा फर्किने वातावरण निर्माण गर्न सांसद श्रेष्ठले माग गरेका छन् । यदि शिक्षकका मागलाई पूरा गर्न कानुन नै सशोधन गर्नुपर्ने अवस्था भएमा अबिलम्ब संसदको विशेष अधिवेशन बोलाउनका लागि पनि सांसद श्रेष्ठले माग गरेका छन् ।